साहित्यकार पारिजातद्वारा लिखित उपन्यासमा आधारित रहेर बनाइएको नाटक ‘शिरीषको फूल’ कान्तिपुर थिएटरमा प्रदर्शन भइरहेको छ। नाटकमा पात्रहरू सुयोगवीरको भूमिकामा जीवन लुइँटेल, सकम्बरीको भूमिकामा सनिशा भट्टराई र शिवराजको भूमिकामा राज न्यौपाने छन्।
शिरीषको फूल उपन्यास नेपाली साहित्यको युग परिवर्तनको एउटा कोशेढुङ्गा हो। विश्व युद्धहरूबाट आक्रान्त भइरहेको बेला साहित्यमा विसङ्गतिवादलाई प्रमुख धाराका रूपमा मानिएको थियो र जीवनको सार्थकतासँग मानिसहरू त्रसित थिए। पारिजातको यो उपन्यास पनि त्यसै समयको उपज भएकाले नेपाली साहित्यमा विसङ्गतवादको बलियो उपन्यासका रूपमा स्थापित हुन सकेको छ।
उपन्यासमा पात्र सुयोगवीर सुबेदार ४५ वर्षीय अविवाहित अधवैँश पुरुष हुन्। सकम्बरी २४ वर्षकी युवती हुन्। शिवराज सकम्बरीका दाजु हुन्। शिवराजका अरू दुई बहिनी पनि छन्। शिवराज बहिनीहरूको निकै ख्याल राख्छन्। सुयोगलाई नारीलाई प्रेम गर्न नजान्ने निर्दयी पुरुषका रूपमा उपन्यासमा उभ्याइएको छ। सकम्बरीलाई देखेपछि उनमा प्रेम पलाएको कथावस्तु उपन्यासमा छ।
उनीहरूको प्रेमकथालाई आधार बनाएर तयार भएपनि यो प्रेमिल उपन्यास भने होइन। उपन्यासमा सुयोग प्रेमको शाश्वत पक्ष खोजेर छटपटीमा छ भने सकम्बरी कसैले प्रेम गरेकै कारण मृत्युवरण गर्न पुगेकी छ। उनीहरूको प्रेमका माध्यमबाट जीवनको विसङ्गतिलाई प्रस्तुत गरिएको छ।
यसै उपन्यासमा आधारित रहेर बनाइएको नाटक ‘शिरीषको फूल’ सकम्बरीको मृत्युबाट सुरु भएको छ। उपन्यासलाई पटकथामा ढाल्दा नवीन शैलीले ढालिएछ भन्ने अनुभूति दिलाउँछ, सँगसँगै सकम्बरीसँगको सम्बन्धलाई कसरी जोडेको छ भन्ने कुराको कुतूहलताले सुरुमै पिरोल्छ। बरी (उपन्यास र नाटक दुवैमा सकम्बरीलाई बरी नामले सम्बोधन गरिएको छ।) को मृत्युपछि सुयोग ऐँठनमा देखिन्छ।
नाटकमा मुख्य भूमिकामा देखाइएको सुयोगले बरीको घाँटी थिचेर हत्या गरेको देखाइएको छ। सुयोगले आवेगमा आएर बरीलाई चुम्बन गरेपछि बरीले सुयोगलाई प्रेमको नाममा अपराध र बलात्कार गरेको आरोप लगाएकी छ। सुयोगले आरोप खप्न नसकेर आवेगमा आई “हो मैले अपराध नै गरेको हुँ। अब के गर्छ्यौ?’ भन्ने प्रश्न गर्छ। बरी दाजु शिवलाई र सबै गाउँलेलाई भनिदिन्छु भन्दै निस्कन खोज्दा सुयोगले घाँटी थिचेर मारेको दृश्य नाटकमा समावेश छ। तर उपन्यासमा सुयोगले प्रत्यक्ष रूपमा बरीको हत्या गरेको लेखिएको छैन। उपन्यासको खण्ड १२ मा सुयोगले आफ्नो आवेगलाई नियन्त्रण गर्न सकेको छैन र, बरीलाई ओठमा चुम्बन गरिदिएको उल्लेख छ:
‘म आफ्नो नियन्त्रणमा थिइनँ, स्थिति छुट्टयाउन सक्ने सामर्थ्य ममा थिएन, म सर्वाङ्ग कामिरहेको थिएँ। आवेशमा आएर मैले उसको सेतो गर्धन अँठ्याएर उसको कमलो ओठमा म्वाइँ खाइदिएँ र आत्मतृप्तिको अनुभव गर्नै नपाई मलाई मोहले छोड्यो। डरलाग्दो सपनाबाट बिउँझेजस्तै म पसिनाले निथ्रुक्क भिजेको थिएँ, मुटु कामिरहेको थियो…’ (शिरीषको फूल: उपन्यास खण्ड १२)
सुयोगको चुम्बनको पीडा सहन नसकेकी बरी बिस्तारै मानसिक तनावमा परेकी छ, दिनदिनै दुब्लाउँदै गएकी छ। तर नाटकमा सुयोगले चुम्बन गरेलगतै ढलेको देखाइएको छ। सुयोगले उसको मृत शरीरको वरपर घुमेर आफूले गल्ती गरेको स्वीकार गर्छ। उपन्यासमा समावेश नभएको यो दृश्य नाटकमा थप देख्न सकिन्छ।
कतिपय स्थानमा त नाटक सुयोग अर्थात् जीवन लुइँटेललाई पर्दामा देखाउनका लागि मात्र बनाइएको हो कि भन्ने भान पनि हुन्छ। उपन्यासमा बरीको जति भूमिका छ, नाटकमा त्यही भूमिका देख्न पाइन्न। पर्दामा मुस्किलले चारपाँच पटक देखाइएको छ। जब कि उपन्यासमा मुखपात्रका रूपमा बरीलाई उभ्याइएको छ। यसले बरीको भूमिकालाई न्याय गरेको भन्न सकिन्न।
नाटक बनिसकेपछि यसको पनि छुट्टै अस्तित्व हुन्छ भन्न सकिन्छ। तर उपन्यासमा आधारित रहेर निर्माण गरिएको भनेपछि पाठक/दर्शकहरूले कथानकलाई तुलना त गर्छन् नै! साथै केन्द्रीय सन्देशको पनि विश्लेषण हुन्छ। रङ्गमञ्चमा प्रस्तुत गर्नुपर्ने भएकाले अमूर्त क्रियाकलाप र विषयहरूलाई नाटकीय स्वरूप दिन सहज हुँदैन। तर नाटकले समग्रमा उपन्यास र सकम्बरी पात्रप्रति न्याय गर्ने जमर्कोसम्म गरेको पनि देखिँदैन।
नेपाली सिने जगतमा निकै प्रशंसा पाएका नायक जीवन लुइँटेलको अभिनयले पनि त्यति मन तान्न सकेको छैन। लुइँटेलको अभिनयमा आवश्यकताभन्दा बढी छटपटी देखिन्छ भने कुनै पनि दृश्यमा वाह! भन्ने अभिनय भेटिँदैन।
नाटक हेर्ने दर्शकहरू सबै उपन्यासको कथावस्तु कण्ठस्थ गररै गएका हुन्छन् भन्ने हुँँदैन। त्यस्तो अनुमान गरेर प्रायश: नाटक निर्माण पनि गरिँदैन। तर उपन्याय नपढ्नेहरूले पनि ‘शिरीषको फूल’मा शून्यवादी दृष्टिकोण र विसंगतिलाई प्रस्तुत गरिएको छ भन्ने देखे/सुने/पढेका हुन/नहुन पनि सक्छन्। त्यसर्थ उपन्यास ‘शिरीषको फूल’ र नाटक ‘शिरीषको फूल’मा दृष्टिकोण नै फरक पर्नु अनपेक्षित कुरा हो। उपन्यास नपढी नाटक हेर्नेहरूलाई उपन्यासमा जीवनप्रतिको विसङ्गति छ भन्ने अनुभूति हुन सक्दैन। यसमा निर्देशकको ध्यान पुगेको देखिन्न।
साहित्यिक पुस्तकलाई नाटक र चलचित्रमा उतार्नु प्रशंसनीय कुरा पनि हो। यसले कृतिलाई नयाँ शिराबाट अर्काे उचाइमा पुर्याउन मद्दत पुग्दछ। तर कृतिको उद्देश्य र नाटक/चलचित्रमा परिवर्तन गर्दाको उद्देश्य नै फरक पर्न गयो भने मूल कृतिलाई अन्याय गर्छ। यसैले नाट्य लेखक तथा निर्देशक पत्रिका घिमिरेले यस्ता पक्षमा आगामी दिनमा ध्यान दिन जरुरी छ। यस्तै फितलो नाट्य रूपान्तरण हुने हो भने कृतिको मूलभावमा परिवर्तन आउने मात्र नभई गरिमामाथि पनि ठेस लाग्नेछ भने नाट्य रूपान्तरण गर्ने र निर्देशकीय भूमिकामाथि पनि प्रश्नचिह्न खडा हुनेछ।
प्रतिक्रिया