+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपामा दुई महामन्त्री : निर्वाचन आयोग भन्छ- ढकाल नै हुन्, पार्टी भन्छ- बुर्लाकोटीलाई बनायौँ

ढकाल भन्छन्, ‘मलाई भिडेर जित्नु छैन — मिलेर जित्नु छ'

अभिलेख
२०८२ असार ८, आईतवार ०७:१४ बजे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कन्द्र बुर्लाकोटीलाई महामन्त्रीको जिम्मेवारी दिएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको केन्द्रीय समितिको बैठकले बुर्लाकोटीलाई महामन्त्री तोकेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका हुन्। यसअघि बुर्लाकोटी कार्यवाहक महामन्त्री थिए।

सोही बैठकले मनिष झालाई प्रवक्ता तोक्ने निर्णयसमेत गरेको छ। झा यसअघि कार्यवाहक प्रवक्ता थिए।

रास्वपामा अब सभापति कार्यवाहक छन्। सभापति रवि लामिछाने थुनामा रहेकाले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापति बनाइएको हो। लामिछाने थुनामा गएपछि रास्वपाले संसदीय दलको नेता तोकेको छैन। उपनेता विराजभक्त श्रेष्ठले संसदीय दलको काम संयोजन गर्दै आएका छन्।

शुक्रवार मात्र निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री मुकुल ढकाल नै भएको जनाएको थियो। आयोगले पत्र पठाउँदै महामन्त्री ढकाल महामन्त्रीबाट हटेको जानकारी आफूहरूलाई नभएको बताएको थियो।

गत वर्ष रास्वपाले ढकाललाई महामन्त्री तथा प्रवक्ताबाट हटाएको थियो। त्यसविरुद्ध ढकालले आयोगमा विवरण अपडेट भए/नभएको विषयमा आफूलाई जानकारी दिन निवेदन दिएका थिए।

रास्वपा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर १५ महिनाअघि भएको र त्यसपछि हालसम्म अद्यावधिक भएको अभिलेखबाट नदेखिएको आयोगको भनाइ छ।

‘प्रस्तुत विषयमा तपाईँले यस आयोगमा मिति २०८२/०३/०४ मा दर्ता गर्नु भएको निवेदन माग बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर भएको विवरण मिति २०८०/१२/२० मा अद्यावधिक भएको र त्यसभन्दा पछि हालसम्म अद्यावधिक भएको अभिलेखबाट नदेखिएको ब्यहोरा आदेशअनुसार अनुरोध छ,’ आयोगले ढकाललाई पठाएको जवाफमा भनिएको छ।

रास्वपाबाट कारबाहीमा परेका ढकालले निर्वाचन आयोगमा अभिलेखको विवरण अद्यावधिक भए/नभएकोबारे सूचना माग गरेका थिए।

उता ढकालले भने आफू सत्यको पक्षमा उभिएकाले ढिलोचाँडो आफूले जित्नेछु विश्वास व्यक्त गरेका छन्।  ‘मलाई भिडेर जित्नु छैन — मिलेर जित्नु छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘जनताको भरोसा व्यक्ति विशेषमा होइन, संस्थागत मूल्य र विवेकमा टिकेको हुन्छ। त्यसैले म दृढ छु — सत्यको बाटो कहिल्यै अलपत्र पर्दैन।’

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख