सल्लेरी पाखामा होटेलहरू,आवतजावत गर्ने मान्छेहरू,यात्रु ओसार्ने घोडाहरू, गाडीहरूले चहलपहल युक्त सबै उत्सुकतामा देखिन्थे। ठिक त्यसको दक्षिण पट्टी त्यहीँबाट खाना खाएर जाँदा हतार नहुने र फुर्सदको समयलाई रारा तालको दृश्यावलोकन गर्नमा उपयोग गर्ने विचार गरियो।
खाना तयारी हुँदा सम्म त्यहाँका स्थानीय बासिन्दा पूर्व सभासद् गोपाल बहादुर बम अर्का जानकार बालकृष्ण विष्ट ,घुघुरे बिक लगायत थुप्रै स्थानीय सँग त्यहाँको इतिहास कोट्याउने ,भलाकुसारी गर्ने मौका मिल्यो। रारा ताल कसरी बन्यो ? भन्ने प्रसङ्गमा कुनै ठोस प्रमाण ,लिपिहरू उपलब्ध नभए पनि पौराणिक जनश्रुति कुनै युग , परापूर्व कालमा अथवा ताल बन्नु पूर्व त्यहाँ मानव बस्ती थियो त्यो बस्तीमा एक सन्न्यासी रुपी तपस्वी(भगवान् स्वरूप) गाउँमा आएर तपस्या गर्नका निम्ति बास मागे तर कसैले पनि बास नदिए पछि अन्तमा एक वृद्ध वृद्धा भएको घरमा बास दिए।
भोलिपल्ट बिहान ती वृद्ध बुढा बुढीलाई यहाँबाट अनेत्र अग्लो स्थानमा गई बस्नु भने। त्यसपछि ती सन्न्यासी तपस्वीले आफूले पानी पिउने गरेको चिन्नो फुटाएर “यो ठाउँ तिमीहरू लाई बस्न नमिलोस्” भनी श्राप दिएर गए ,त्यसपछि त्यहाँ पानी भरिएर ताल बन्यो। त्यसपछि देवादी देव महादेव सतीदेवीको लास बोकेर अनेकौँ स्थान परिक्रमा गर्ने क्रममा यहाँ चारैतर्फ घुमेर पूर्वमा छायानाथमा पुगेर सतीदेवीको अन्तिम शेषाङ्ग पतन भएपछि त्यहाँ बाट एकाग्र चित्त द्वारा हुम्ला हुँदै कैलाश पर्वतको बाटो बाट मानसरोवर गए भन्ने भनाइ रहेको छ। रारा तालको चारैतर्फ चार वटा महादेवका निम्न शिव मन्दिर छन्।
१) ठाकुर महादेव
२) लागुरा महादेव
३) छाप्रु महादेव
४) रारा छाप्रे महादेव
यसै ताल बाट पाँच पाण्डव हरू पनि अवलोकन गरेर मुगुको भाम बाडामा गएर ढुङ्गै ढुङ्गाको धारा बनाए भन्ने जनश्रुति पनि रहेको छ । त्रेता युगमा उक्त ताल सर्वप्रथम अयोध्याका राजा भगवान् श्री रामले पनि अवलोकन गरेकोले उक्त ठाउँ लाई सर्वप्रथम रामेश्वर भनिन्थ्यो रे । पछि उक्त ताल रारा तालको नामले चिनिन थाल्यो । २०२० चैत १९ गते राजा महेन्द्र मुगु रारा आएपछि दुई दिन त्यहाँ मुकाम बन्यो र रारा ताल लाई महेन्द्र ताल नामकरण गरियो । साथै अर्को नाम “राराकी अप्सरा” पनि राखियो।
यतिखेर यति मात्र बातचित भए। सांसद गोपाल बहादुर बम खरो स्वभाव उदार भावना भएको व्यक्ति मुगुकै जनप्रतिनिधि पनि भएकोले त्यहाँको यथार्थ वस्तुस्थिति बारे धेरै बुझ्ने मौका मिल्यो। हामीलाई आफै बोलाएर पाहुनाको रूपमा स्वागत गर्नु भयो। साथमा बौद्धिक व्यक्तित्व बालकृष्ण विष्ट, दलित प्रतिनिधि घुघुरे विक जुम्ला सिजा गोठेल बाडाका राजाराम बुढा समेतले मुगु र रारा बारे चर्चा गर्नुभएको थियो ।
घोडा समितिलाई प्रति व्यक्ति ६०० र आरक्ष दस्तुर १०० बुझाएर घोडा चढेर उकालो लागियो। धेरै वर्षको अन्तरालमा घोडामा चढ्दाको आनन्द र थोरै डर अविस्मरणीय भयो। बाटोमा रारा राष्ट्रिय निकुञ्जको अधीन र संरक्षणमा घनिभूत रूपमा उम्रिएका गोब्रे सल्ला, अउली सल्ला, लोटे सल्ला ,पावै सल्ला,धुपी सल्ला ,देवार सल्ला गरी छ विभिन्न जातका सल्लेरी बन छिचोल्दै छिट्टै सुन्दर राराको अवलोकन गर्ने रहर बुन्दै घोडाको चालमा हिँड्यौँ।
हामी हिँडिरहेको सुन्दर पाटन क्षेत्र यस अघि रारा र हुटु भन्ने गाउँ बस्ती रहेछ। २०३२ सालमा राजा वीरेन्द्रले त्यसलाई राष्ट्रिय निकुञ्ज बनाउने निर्णय गरेपछि रारा राष्ट्रिय निकुञ्ज स्थापना भयो। निकुञ्ज स्थापना भएपछि त्यहाँ स्थित हुटु र राराका बासिन्दालाई विस्थापित गरी बाँकेको चिसापानी र गावरमा बस्ती बसाइयो। हाल उक्त बस्तीलाई रारा बस्ती नामले परिचित छ।
वहाँहरूसँगको हाम्रो संवाद शाब्दिक रूपमा मात्र भयो बाँकी अब प्राकृतिक,भौगोलिक रूपमा प्रत्यक्ष भौतिक अनुभव र अनुभूति गर्नु थियो । जीविका होटेलमा आतिथ्यपूर्ण मिठो खाना खाएर साथीको इच्छालाई सहमति दिँदै घोडचढी गरेर रारा पुग्ने योजना बन्यो । हुन त सल्लेरी बाट पैदल मार्ग बाट रारा ताल पुग्न बढीमा ४५ मिनेट लाग्दो रहेछ ।
त्यो समथर पाटन लाई पार गरेपछि थोरै सल्लेरी पाखा झर्दै गर्दा पुनः समथर पटनी भाग हुँदै निलाम्य सुन्दर रारा तालको पहिलो झल्को उद्घाटित भयो । घोडाको घाँटीमा झुन्ड्याएको घण्टीको आवाज सँगै स्वर्गकी अप्सरा राराको नजिक पुग्दा तत्क्षण भूत र भविष्यको कुनै विचार नभई केवल वर्तमानमा घोडाको पिठ्युँमा स्थिर भयौँ। साँच्चै म राराको काखमा छु र ? भ्रमित बनेँ।
उत्तर दक्षिण भएर लमतन्न विराजमान रारा ताल निर्मलता र प्राकृतिक सुन्दरताको नमुना थियो। तालको बेग्लै अनुभूति गर्न, स्पर्श र दुरी पार गर्न बोटिङ स्थल पुगेर नियमानुसार शुल्क तिरेर बोटिङ द्वारा तालको मैदानमा सयर गरियो। रोमान्टिक गफगाफको क्रममा बोटिङ चलाउने भाइहरूले धेरै पर सम्म पुर्याएछन्। जति घुमाए पनि थोरै लाग्ने स्वर्णिम अनुभूति हुने दस मिनेट घुमाउनु पर्ने सत्र मिनेट घुमाएछन् मलाई पाँच मिनेट जस्तो लाग्यो। बिचमा जुवाडीले च्याँखे थापे जस्तो हुने भए रुपैयाँ थप्दै सम्पूर्ण ताल घुमौँ झैँ लागेको थियो।
समय र शुल्क एकैसाथ सकिएको सङ्केतले दूध चुसिरहेको बच्चालाई आमाले दूध चुस्न छुटाए झैँ लाग्यो । तालको किनारा बिहानको दस बजिरहेको रहेछ। हावाको वेग उत्तर बाट निरन्तर चली रहेको थियो। तालमा छालहरू एकपछि अर्को आउने क्रम थियो। किनारामा असला माछाहरू स्वइच्छामा घुमिरहेका प्रस्ट देखिन्थे। समुन्द्र सतह भन्दा ३९६० मिटर उचाइ १६७ मिटर गहिरो पाँच किलोमिटर लम्बाइ र ३.५ किलोमिटर चौडाइ भएको नेपालको सबैभन्दा ठुलो ताल रारा सर्वाधिक आकर्षक ,सुन्दर र मनमोहक छ। यो ताल बाहिर परिक्रमा गर्दा ५/६ घण्टा समय लाग्छ।
रारा ताललाई उत्तर बाट चंखेली हिमालले नियाली रहेको छ। जुन हिमाल पुरानो एकको नोटमा अङ्कित छ। ताल्चा विमानस्थल बाट उड्ने जहाज यात्रुको चहानानुसार रारा ताल भएर पनि उडेको देख्न सकिन्छ।
रारा तालमा जाडो याममा मानसरोवर र साइबेरिया तिर बाट चखेवा ,माल चरीहरू सयर गर्न आउँछन्। तालमा भएका सर्वश्रेष्ठ असला माछा गहिराइ सम्म पुगेर सिकार गरेर खान्छन्। मान्छेले त्यहाँका माछा मार्न प्रतिबन्ध छ भनेर एक जना बोटिङ गराउने भाइ गुमान रावलले बताए। म र मेरो साथी धनवीर जी उमङ्गले दङ्ग हुँदै तालको दक्षिण पश्चिमी किनारा तिर अनुभूति गर्दै नियालिऔँ। यो मन र बिचारको तृष्णा न हो कहिल्यै तृप्त नहुने आशा अभिलाषा बाँकी रहने। तर समय निरन्तर बदली रहेको थियो। त्यो बद्ली रहेको समय सँगै हामी पनि अनिवार्य बदलिनु पर्थ्यो।
त्यसैले त्यो प्राकृतिक सुन्दरता प्रतिको आशक्ति टुटाएर फेरि फर्केर राराको दक्षिण पश्चिमको उचाइमा रहेको मुर्मा गाउँ पुग्ने -जहाँ बाट वर्णित अहो भाव वाउ! रारा ,हिमालका श्रृङखला देखिन्छन्। बाइ बाइका हात हल्लाउँदै पुनः घोडा सवार गरेर सल्लेरी फर्कियौँ।
अब केही समय बाँकी रहेकोले सल्लेरी बाट पैदल ओरालो छोटो बाटो लाग्ने निधो भयो। बाटोको अवस्था र छुट्टिने मार्ग पहिचान सहयोगको लागि जुम्लाका राजाराम बुढा तल सम्म झर्दै ओरालोमा टेक्ने लट्ठीको व्यवस्था मिलाइ दिनु भयो। बिस्तारै हिँड्दै गर्दा ब्यागमा बोकेर ल्याएका खानेकुरा घटाउँदै हामी दुई दाजुभाइले पैदल यात्राको मजा लियौँ। बाटोमा सयौँ वर्ष पुराना ठुला ठुला द्यार सल्लाका रुखहरू नियाल्दै,पछि पार्दै झ्यारबाडा गाउँ बिचै बाट तल झार खोला मोटर बाटो भएको ठाउँ झरियो।
जुन खोलामा परम्परागत रूपमा मकै कोदो पिस्ने घट्टले मकै पिस्नुमा निरन्तरता दिइरहेको देखिए पनि यो सत्य थिएन परिवर्तन सत्य थियो। समय अझै बाँकी भए पनि मुगु बाट जुम्लाका लागि गाडी नआउने निश्चित भए पछि त्यहीँ झार खोला बसिने पक्का भयो। राराको सल्लेरीमा भएको एउटा महादेव होटेलको शाखा अर्को भाइको पनि महादेव होटेल रहेछ। हामी त्यहीँ बस्ने निश्चित भयो। आयुर्वेद र परम्परागत रूपमा प्रख्याति कमाएको स्वादिष्ट र पौष्टिक युक्त सिस्नु झ्यारी खोला बारीका कान्लाहरूमा प्रशस्तै पाइने रहेछ। मैले सिस्नु खाऊँ भाइ भनेपछि होटेलका भाइले डालीमा सिस्नुका मुनाहरू टिपेर ल्याए,पकाए र थपी थपी खुवाए।
हाम्रो अग्रज धनवीर दाइले निक्खर कोदाको तिन पाने रक्सी तिन कटौरा सिस्नु सँगै अग्रिम खाएर झुम्नु भयो। मैले दुई कटौरा सिस्नु खाना सँगै खाएँ। भोलि पल्ट बिहान यात्राको थकान र केही चिसोले अस्वस्थ भौतिक शरीर चङ्गा बनेको महसुस भयो। यहाँबाट आज हामी जुम्ला सदरमुकाम खलङ्गा जाने तयारीले मुगु बाट आउने गाडीको पर्खाइमा थियौँ। बिहानको नौ बजे तिर स्कारपियो गाडी आयो।
दुर्गम र पहाडी सडकमा भनेको बेला गाडीहरू आइ पुग्दैनन्। धन्न आइपुगेको गाडीमा भाडाको निश्चित गरेर गाडी चढियो। मुगुको बाँकी बाटो र सिमानालाई बिदा गर्दै जुम्ला प्रवेशसँगै सिल्टी चौरमा गाडी रोकियो। जुन ठाउँ घोडा, गाई, भेडा बाख्रा हरू चरिचरणको लागि आएका पाटनमा टाढा टाढासम्म देखिन्छन्। उत्तरतिर पनि नाङ्गा अग्ला गर्कच पहाडहरू त्यो पाटनको बुकी फुलहरू हेर्दै ठिङ्ग उभिएका छन्। यात्रुहरू झरेर तस्बिर लिन हतार गर्छन्। जुम्लाको लागि हिँडेको हाम्रो गाडी मुगु र जुम्लाको सिमाना भलभलेमा पुन:रोकियो।
चिसो ठाउँको मिठो खाना खाएर गाडी जुम्ला पुग्ने नयाँ बाटो तिर मोडियो। जुम्ला मुगु जोड्न बनाइएको त्यो सरल र छोटो बाटो हाल स्तरोन्नतिका लागि निर्माणाधीन अवस्थामा रहेछ। कठिन र जोखिम मोलेर पनि हाल साना गाडी जाने आउने गर्छन्। सो क्रममा ऋणमोच्छे हिमाल बाट हिउँ पग्लेर आएको स्वच्छ ,निर्मल हिम नदी लाई सिरानमा न्याउरी गाड भनिन्छ त्यहाँ झरेर स्वच्छ चिसो पानी अँजुलिले धित मर्ने गरी पियौँ। त्यसपछि हामी केही उचाइमा चढ्दै गएपछि खाल डाँफे भन्ने स्थान आयो। यो जुम्ला जिल्लाको उत्तरी भेगमा पर्ने पातारासी गाउँपालिका वडा नं ५ पर्छ। यो खाल डाँफे एक आकर्षक पर्यटकीय गन्तव्य स्थल बन्ने प्रशस्त सम्भावना देखिन्छ।जहाँ विस्तारित पाटन क्षेत्र मनमोहक र भावुक बनाउने खालको छ। त्यहाँबाट पूर्व तिर हेर्यो भने ऋणमोच्छे हिमाल देखिन्छ। त्यहाँबाट बगेर आउने हिम झरना त्यहाँ रहेका नाङ्गा पहाडका श्रृङखलाहरु शोभनिय अति सुन्दर छन्।
त्यो सिरसिरे हावा चलिरहने सडकको किनारामा एक घर छ एक होटेल छ आँगनमा भेडाको उनबाट तयार पार्ने लिउ बुनी रहेका बृख बहादुर थापा सँग कुराकानी हुन्छ। उनी त्यहाँ बसेको पनि २०-२२वर्ष पुगेछ। १० जनाको सगोल परिवार छ। सयौँ भेडाहरू पालेर त्यसबाट उन निकाल्ने र लिउ, काम्ला, फेरे, स्विटर,टोपी ,पन्जा,गलबन्दी तयार पार्छन्। उनी आफू पातलो ,दुब्लो देखिए पनि पटक पटक म्याराथनमा भाग लिने खेलाडी भएको बताए।
यो ठाउँमा पुगेपछि यात्रीहरू मोहित हुन्छन् ,गाडी रोक्न लगाउँछन्। बुकी पाटन क्षेत्र उचाइ र गहिराइ टाढा टाढा सम्म लमतन्न देखेर मन्त्र मुग्ध हुन्छन्। हामी पनि भयौँ एउटा भिडियो बन्यो। जिन्दगी यही बसेर बिताऊँ झैँ लागेथ्यो तर यो सबै अनित्य रहेछ। संसारमा कुनै पनि चिज स्थिर र नित्य छैन। न जीवन न समय ,न दुख न सुख, न उत्साह न निराशा न धन न पद प्रतिष्ठा ,न प्रेम न प्रेमी सबै परिवर्तन सिल छ। यो केही क्षणको आशक्ति मात्र नहो केही बेरमै छोड्नु पर्छ। उच्च हिमाली भेग भएकोले केही बेरमै हावाको झोक्काले त्यसबाट जोगिने उपायमा म बृख थापाको घरभित्र पसेँ। घर भित्रको तानाबाना व्यस्तताको चटारो बुझेर निस्किएँ।
गाडी चल्न सुरु भैसकेको थियो। जाँउ जाँउ भन्न थाले यही त हो परिवर्तन हिँड्न परि हाल्यो ,छोड्न पनि परि हाल्यो,मन गाँठो पारेर। त्यो खाल डाँफेको याद र झझल्को मानसपटलमा राख्दै गाडी हल्का ओरालो पहाड का थुम्काथुम्की खोचहरू बेग्लै रङका लालीगुराँस फुलेका पाखा पखेरा छिचोल्दै जुम्ला सदरमुकाम पुगियो। सशस्त्र प्रहरी बल , जिल्ला प्रशासन कार्यालय नजिकै ओर्लिदा जताततै बजारको चहलपहल मान्छेको ओहोरदोहोर निकै थियो। काठमाडौँको बाघबजारको याद आए थ्यो। सायद त्यस दिन कुनै राजनीतिक दल भातृ सङ्गठनको निर्वाचन भएको हुनुपर्छ।
हामी त्यहाँ पुग्ने बित्तिकै जुम्लाको सान र पहिचान बोकेको चन्दन नाथ र भैरव नाथ मन्दिर लाई सम्झियौँ। जुम्ला सदरमुकामको मुटुमा रहेको चन्दन नाथ मन्दिर बारे केही पौराणिक ऐतिहासिक पाटाहरूलाई खोतल्ने जनसमक्ष पुर्याउने उद्देश्य रह्यो। श्री चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिको कार्यालय पुगेर सबै पदाधिकारी र कर्मचारी सँग परिचय भयो। हाल गुठी संस्थानका अध्यक्ष अमर बहादुर थापा कार्यविधि भर्खरै प्रारम्भ भएकाले यस विषयमा सम्पूर्ण जानकारी दिन सरकारी प्रतिनिधि रत्न प्रसाद आचार्यलाई लाई दिनु भयो। गुठी संस्थानमा कार्यरत सरकारी प्रतिनिधि नासु रत्न प्रसाद आचार्य चन्दन नाथ मन्दिर र गुठी संस्थानको विगत र वर्तमान अवस्था बारे लामो अनुभव र अनुभूति सँगालेको व्यक्ति हुनु हुन्छ। सर्वप्रथम जुम्ला उपत्यका कसरी बन्यो ? भन्ने जिज्ञासामा आचार्य बेली बिस्तार लगाउनु हुन्छ –
जुम्ला उपत्यका मानव बस्ती बस्नु भन्दा पहिले यहाँ पानी पानीले भरिएको तलाउ, दह थियो रे। कुनै कालमा एक जना सन्त घुम्दै फिर्दै यहाँ आए र सिद्ध गुफामा गएर लामो समय कठोर तपस्या गरेपछि रिद्दी सिद्धी प्राप्त भयो। उनी चन्दननाथ बाबा थिए।
त्यसपछि सन्त चन्दन नाथले सिद्धी शक्तिद्वारा यहाँको तलाउलाई काटेर खोली दिएछन्। त्यसपछि बिस्तारै पानी घट्दै गयो। मानव बस्ती बस्न लायक भएपछि मानिसहरू यहाँ बस्न थाले। पहिले यहाँका मान्छे छिनासिममा बस्थे भनिन्छ। उनै सन्त चन्दन नाथले दत्तात्रय भगवानको मूर्ति स्थापना गरे र उनै चन्दननाथले पूजाआजा प्रारम्भ गरेकाले चन्दन नाथ मन्दिर भन्ने गरिन्छ। यथार्थमा यो मन्दिर दत्तात्रय भग वानको मन्दिर हो।
जुम्लाको नामकरण कसरी रह्यो भन्ने हाम्रो जिज्ञासामा रत्न आचार्य भन्नुहुन्छ -यहाँ जुम्लाको नामकरण हुनु पूर्व यो उपत्यकामा मानव बस्ती बस्ने क्रममा दुई देवल डाँडा र नाग डाँडा जोडिएका समकक्षी रूपमा दुई जुम्ल्याहा थुम्का डाँडा यद्यपि छन्।
त्यस्तै ऋण मोच्छे हिमालको दक्षिण जुम्ला तर्फबाट बगेर हुम्ला कर्णालीमा मिसिन जाने तिला नदी र सोही हिमालको उत्तर तिरबाट बगेर मुगु कर्णालीमा मिसिने जवा नदी समकक्षी जुम्ल्याहा नदीका कारण जुम्ल्याहा भन्दै गर्दा अप्रभंस भई जुम्ला भन्ने गरेको भनाइमा एकमत छ।
चन्दन नाथ मन्दिरमा ६०१ साल अगाडि देखिएका बहुमूल्य मूर्तिहरू ऐतिहासिक पुरातात्त्विक महत्वका दस्ताबेज, ग्रन्थ र एक पुस्तकालय थियो भनिन्छ। ती दस्ताबेज ग्रन्थ र पुस्तकहरू अध्याय गर्ने मान्छेहरूले लिए तर फिर्ता ल्याएनन्। गुठी व्यवस्थापन समिति गठन हुनु भन्दा अगाडी रेखदेख ,व्यवस्थापनको गैर जिम्मेवारीले अभिलेख नराख्दा खोजिनिधी गर्न कठिनाइ भयो।
विसं २०३६ सालमा चन्दननाथ,भैरवनाथ गुठी व्यवस्थापन समिति गठन भयो र हाल सम्म गुठीले मन्दिर सञ्चालन र व्यवस्थापन गर्दै आएको छ। अज्ञात व्यक्ति वा समूह बाट २०७३ साल मङ्सिर ११ गते राति चन्दननाथ मन्दिर बाट २१ वटा विभिन्न बहुमूल्य मूर्तिहरू चोरी भए। केही समयको अन्तरालमा निकै खोजविन अनुसन्धान पछि बेवारिसे अवस्थामा १८ वटा दत्तात्रयको मूर्ति सहित फेला परेर फिर्ता आए। बाँकी सरस्वती को मूर्ति , श्री गणेशको मूर्ति र सुनै सुनले बेरिएको एउटा शालिग्राम गरी तिन मूर्ति आज प्रयान्त भेटिएका छैनन्।
चन्दन नाथ मन्दिरमा पाँच वटा लिङ्गा गाड्ने प्रचलन अनुसार भाद्र शुक्ल ऋषि पञ्चमीका दिन लिङ्गा काट्ने त्रयोदशीका दिन लिङ्गाहरू ल्याउने र घट्ट स्थापनाको दिन ध्वजा पताका सहित पाँचवटा लिङ्गा गाड्ने परम्परा। त्यस दिन प्रहरी, प्रशासन ,नेपाली सेना ,स्थानीय सरकार लब्ध प्रतिष्ठित व्यक्ति लगायत सर्व साधारणको उपस्थिति रहन्छ। मन्दिरमा दैनिक आठ माना चामलको भोग लाग्छ। कोही नभए पनि कुकुर ,गाई, ब्राह्मण र मगन्तेलाई दिइन्छ। पाहुना खाने मान्छे भए चामल थपिन्छ। चन्दननाथ मन्दिरको आफ्नै गुठीको रूपमा रहेको रारा लगायत अन्य पाँच जिल्लामा करिब एक लाख बिस हजार बर्गमिटर रैकर जग्गा जमिन छ। उक्त रैकर जग्गाको आम्दानी मालपोत कार्यालय मार्फत राष्ट्रिय गुठी संस्थानले लिन्छ र यस मन्दिरलाई वार्षिक दस हजार मात्र झिनो रकम दिन्छ।
मन्दिरको नाममा रहेको बजार सँग जोडिएको ४८३५६ वर्ग मिटर उत्पादन सिल र टहरा सहितको जग्गा र मन्दिरले ओगटेको १४७९ वर्ग मिटर सहित जम्मा ४९८३५वर्ग मिटर जग्गा जुम्लाकै नाम थाह नभएकी सिम्खडा थरकी निसन्तान विधवा महिला र काठमाडौँका सुमन पराजुली भन्ने दाताले दान दिएको भन्ने भनाइ रहेको छ। सोबाट प्राप्त आम्दानीले मन्दिरको वार्षिक पूजाआजा चाडपर्व र उत्सवहरू पूर्ण गरिन्छ। मन्दिरमा पुजारी ,कर्मचारी र सहयोगी गरी दस जना पारिश्रमिक पाउने र चार जना मन्दिर सुरक्षामा खटिने सुरक्षाकर्मी कार्यरत छन्।
वैशाख १६ गते बेलुकाको खाना मन्दिरको भान्सामा खाना खाने आमन्त्रण भयो। बेलुकाको पूजा आरती ,आराधना पछि म र साथी धनवीर जी,पुजारी ,सन्त ,योगी कर्णाली प्रदेशबाट समानुपातिक सबैभन्दा कान्छी सांसद विनीता कठायत,अर्का ज्योतिषी ,संस्कृतमा दखल राख्ने पूर्णसिंह कठायत लगायत अग्रजहरूको उपस्थिति भयो। सो अवसरमा जुम्लाको राजनीतिक,आर्थिक , सांस्कृतिक र सामाजिक अवस्था बारे कुराकानी भए।
यहाँका मतदाता कुनै एउटा राजनीतिक पार्टी सँग झुन्डिन रुचाउँदैनन्। जुम्लाको विकासको लागि धेरै पटक पार्टी फेरे, नेता परिवर्तन गरे तर भने जस्तो विकास आमूल परिवर्तन हुन सकेन। जुम्लामा कठायतहरूको राजनीतिक पृष्ठभूमि अलि बलियो छ। यही परिवारका अघिल्लो पुस्ताका अदानसिं कठायत पूर्व अञ्चलाधीश हुन। विकास भन्ने कुरा कुर्नु पर्ने होइन फड्को मार्नु पर्ने रहेछ त्यसको लागि दूरदर्शिता भएको त्यागी नेतृत्व आवश्यक हुँदो रहेछ। यो जुम्लाको मात्र समस्या र आवश्यकता होइन यो त देशकै परिपाटीको समस्या र आवश्यकता हो रहेछ।
भौगोलिक र प्राकृतिक रूपमा यति सुन्दर ,मनोरम व्यवस्थित ठाउँ ,गाउँ ,बजार भएको जुम्ला जल,जङ्गल ,जडीबुटी ,फलफूल ,हिउँ ,हिमाल आकर्षक थुप्रै पाटन क्षेत्र भएको जुम्ला ,मार्सी धान चामलले चर्चा बटुलेको सिजा जुम्ला, थुप्रै जाती,मौलिक सभ्यता संस्कृतिको उद्गमस्थल जुम्ला हो। मुगु छायानाथ रारालाई साँच्चिकै गतिहीन,शक्तिहीन ,मूकदर्शक भएर बसेको तिनै तहका सरकारको सबैको सत्प्रयासले चिनाउन सक्नु पर्छ। बुझाउन र देखाउन सक्नु पर्छ। जुम्ला ,कालिकोट ,मुगु,डोल्पा , लगायत कर्णाली प्रदेश देशकै नमुना पर्यटकीय गन्तव्य स्थल बन्नेमा दुई मत छैन। यसको लागि –
केवल जागे पुग्ने रहेछ ,
कर्ममा लागे पुग्ने रहेछ
तुच्छ स्वार्थले अनैतिकता
को भावना त्यागे पुग्ने रहेछ।
यतिले मात्रै जुम्ला र कर्णालीको सम्पूर्ण वास्तविकता ,यथार्थताको रहस्य खुल्दैन। यसका लागी यहाँ थुप्रै समय खर्चिनु पर्छ ,थुप्रै पैताला खियाउनु पर्छ। यसरी यस पटक थोरै समयलाई सदुपयोग गरेर थोरै भए पनि मुगुको गमगढी ,रारा र जुम्लाको भ्रमणले कर्णालीको केही वास्तविकता बुझ्ने अवसर जुर्यो।
अन्तमा २०८१ वैशाख १९ गते पुनः कालिकोट दैलेख ,सुर्खेत हुँदै हाम्रो भ्रमण कोहलपुर नेपालगन्ज पुगेर टुङ्गियो -अस्तु….