ओपनर हसन इसाखिलको अर्धशतकसँगै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सलाई १६५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १६४ रन बनाएको हो।
हसनसँगै ओपनिङमा उत्रिएका सन्तोष कार्की नौ रनमा आउट भए। तर, हसनले ५२ बलमा ६ चौका र तीन छक्कासहित ६५ रनको इनिङ्स खेले।
एनपिएलमा हसनको यो पहिलो अर्धशतक हो। विपिन रावल १७ र कप्तान कुशल मल्ल १३ रनमा आउट हुँदा रवी बोपाराले १८ बलमा दुई चौका र दुई छक्कासहित ३६ रनको योगदान दिए।
जान निकोल लोफ्टी इटन दुई र अमर रौटेला ६ रनमा अविजित रहे।