नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको खेलमा लुम्बिनी पराजित भएको छ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम ४५ रनले विजय भएको हो।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १४२ मात्र पुर्याउन सकेको हो।
लुम्बिनीका विवेक यादवले नटआउट रहँदै ७७ रन जोडे। ७ छक्का र ३ चौकाको मद्दतमा उनले उक्त योगफल तयार पारेका थिए। यस्तै, सुन्दीप जोराले २० रन बनाउँदा दिनेश अधिकारीले १४ रन मात्र बनाउन सके। अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङतर्फ ब्रान्डन म्याकमुलेन र साइफ जाइबले ३-३ विकेट लिए भने स्कट कुगेलेइनले २ विकेट लिए। अविनाश बोहरले १ विकेट लिएका थिए।
त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनाएर १८८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
सुदूरपश्चिमका सैफ अली जैबले सर्वाधिक ९० रन बनाएका थिए। उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए। विनोद भण्डारीले १७, आरिफ शेख ०, ब्रान्डन म्याकमुलेन २३ र कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाएका थिए।
बलिङमा रामोन सिमण्ड्सले २, कप्तान रोहित पौडेल र विवेक यादवले एकएक विकेट लिए। एनपीएलमा दुवै टोलीको तेस्रो खेल हो। यसअघि भएका दुवै खेलमा पराजित बनेको लुम्बिनीले शनिबार पनि हारलाई निरन्तरता दिएको हो।
उता सुदूरपश्चिमको जितयात्रामा भने ब्रेक लागेको छैन। यसअघि भएका दुवै खेलमा सुदूरपश्चिमले जित निकालेको थियो। पहिलो खेलमा लुम्बिनी लायन्स विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो। दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो।
सुदूरपश्चिम रोयल्सले भने यसअघिका दुई वटै खेल जितेको थियो। सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो।