नेदरल्याण्ड्स विरुद्ध आइसीसी टि-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ।

समूह ‘डी’ अन्तर्गतको खेलमा नेपाल मंगलबार नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ७ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर भेटायो। अन्तिम ३ ओभरमा नेदरल्याण्ड्सलाई जितका लागि १९ रनको आवश्यकता थियो। सोमपाल कामीको १८औ ओभरमा नेदरल्याण्ड्सले ६ सिंगल सहित ६ रन बनाएको थियो।

रन रोक्न सफल रहेपनि विकेट निकाल्न नसक्दा नेपाल जितविहिन रह्यो। नेपालका लागि सोमपाल , दिपेन्द्र सिंह ऐरी र अविनाशले समान १ विकेट लिए। सोमपालले ४ ओभरमा १८ रन खर्चिए । दिपेन्द्रले २ ओभरमा ६ रन मात्र दिए भने अविनाशले ३.४ ओभरमा २९ रन दिए। करण केसीले ३ ओभरमा १७ रन दिंदै विकेटविहिन रहे । गुलशन झाले २ ओभरमा १७ रन दिँदा सागर ढकालले ४ ओभर बलिङ गर्दै २१ रन खर्चिए।त्यसअघि अमेरिकाको डालास शहर स्थित ग्राण्ड प्रेरी मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपाल १९।२ ओभरमा १ सय ६ रनको सामान्य योगफलमा समेटियो। नेपालका लागि कप्तान रोहितले ३७ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ३५ रन बनाए । अर्कोतर्फ इनिङको मध्यभागमा लगातार विकेट खसेपछि उनले राम्रो साथ भने पाउन सकेनन् ।

नेपालले सुरुवातमै दुई विकेट गुमाउन पुगेको थियो। नेपालले दुवै ओपनरलाई तेस्रो ओभर भित्र गुमाएको थियो।

नेपालले अब समूहमा आफ्नो दोस्रो खेल जुन ११ मा श्रीलंका विरुद्ध खेल्नेछ । सो खेल फ्लोरिडामा हुनेछ। त्यसपछि दक्षिण अफ्रिका र बंगलादेश विरुद्ध खेल्न नेपाल वेस्ट इन्डिज प्रस्थान गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय