क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन फेरि पनि अस्वीकार (रिजेक्ट) गरेको छ।

यसअघि क्यानको सिफारिसका आधारमा अमेरिका जानका लागि सन्दीपले भिसा प्रक्रिया अघि बढाउँदा अमेरिकाले अस्वीकार गरेको थियो। तर टी-२० विश्वकप क्रिकेट खेलाउनका लागि क्यानको अनुरोधमा परराष्ट्र मन्त्रालयले अमेरिकालाई कूटनीतिक नोट पठाउँदै भिसा प्रक्रियामा सहजीकरण गरिदिन अनुरोध गरेको थियो।

तर परराष्ट्रको कूटनीतिक नोट पाए पनि अमेरिकाले यसअघि गरेकै निर्णयलाई निरन्तरता दिएको हो।  पहिलो पटकको प्रयासमा सन्दीले भिसा नपाएपछि दोस्रो चरणमा कूटनीतिक नोट पठाएपछि सन्दीपलाई अमेेरिकी दूतावासले अन्तर्वार्ताका लागि बोलाएको थियो। बिहीबार अन्तर्वार्ताका लागि सन्दीप अमेरिकी दूतावास पुगेका थिए।

यता सन्दीपका समर्थकहरूले भने सन्दीपलाई भिसा दिन माग गर्दै अमेरिकी दूतावास घेराउ गरेका थिए।

यसअघि नै नेपाली क्रिकेट टोली भने विश्वकपको तयारीका लागि अमेरिका पुगिसकेको छ। नेपाली टोलीको अमेरिका पुग्दासम्म पनि सन्दीपविरुद्ध बलात्कारको मुद्दा पाटन उच्च अदालतमा विचाराधीन थियो। तर जेठ २ गते अदालतले उनलाई सफाइ दिएको थियो। यसपछि क्यानले उनलाई अमेरिका पठाउने तयारी अघि बढाएको थियो।

पाटन उच्चको फैसला अघि काठमाडौँ जिल्ला अदालतले भने लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको थियो। गौशाला २६ (परिवर्तित नाम)ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो।

जिल्ला अदालतले दोषी ठहर गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई निलम्बनमा राखेको थियो। २०७९ भदौ ५ गते लामिछानेले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै गौशाला-२६ ले २०७९ भदौ २१ गते लामिछानेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।

त्यसबेला क्यारेबियन प्रिमियर लिग क्रिकेट खेल्न सन्दीप वेस्ट इन्डिजमा पुगेका थिए। उनी भदौ ६ गते नै त्यसका लागि प्रस्थान गरेका थिए। प्रहरीमा जाहेरी परेको सार्वजनिक भएपछि राष्ट्रिय टोलीसँगै नफर्की सन्दीप अमेरिकातर्फ भागेका थिए। पछि इन्टरपोलमार्फत पक्राउ पर्ने सूचना जारी भएपछि उनी नेपाल फर्किएका थिए। नेपाल फर्कनेबित्तिकै काठमाडौँ विमानस्थलबाटै प्रहरीले उनलाई पक्राउ गरेको थियो।

काठमाडौं जिल्ला अदालतले २०७९ कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। थुनामा पठाउने जिल्लाको आदेशविरूद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरे। पुस १८ गते उच्चले उनलाई २० लाख रुपैयाँ धरौटीमा सशर्त रिहा गर्न आदेश गरेको थियो।

विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत शर्त उच्चले राखेको थियो। उच्चको आदेशमा पनि चित्त नबुझाएका सन्दीप २०७९ फागुन १२ सर्वोच्च पुगे। फागुन १५ गते सर्वोच्चले उनलाई राष्ट्रिय खेलाडी भएको भन्दै विदेश जाने अनुमति दिएको थियो।

तर २०८० पुस १३ गते उनी जिल्लाबाट दोषी ठहर भएपछि खेलजीवनमा सक्रिय हुन पाएनन्। जेठ २ गते उच्चको फैसलासँगै उनले अमेरिका जाने तयारी गरेका थिए।

तर अमेरिका जानका लागि दिएको पहिलो भिसा आवेदन अस्वीकृत भएपछि सामाजिक सञ्जालमा उनले निराशा व्यक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय