कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकार सुशासन र समृद्धिमा केन्द्रित भएको बताएका छन् । प्रेस चौतारीले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गिरीले सरकार समृद्धिमा केन्द्रित रहेको र नयाँ बर्षमा सबै नेपाली देशको अर्थतन्त्र बनाउने काममा जुट्न जरुरी रहेको बताए। गिरीले अर्थतन्त्र चलायमान बनाउन, सुशासन कायम गर्न र विकास निर्माण गर्न सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् । उनले भने, ‘हाम्रो मुख्य ध्यान अर्थतन्त्रलाई चलायमान बनाउने, विकास निर्माण र सामाजिक सुधारका पक्षमा काम गर्नेमा छ । भ्रष्टाचार अन्त्य गर्न खरो रूपमा उत्रनुपर्छ ।’
संविधान कार्यान्वयनका लागि १ सय ८२ वटा कानुन अझै बनाउन बाँकी रहेको र त्यसमध्ये ६१ वटा कानुनलाई पहिलो चरणमा बनाउने गरी सरकारले तयारी गरिरहेको उनले बताए ।
कार्यक्रममा बोल्दै उनले समयमा नै काननु तयार नहुँदा जनतामा संघीयता नै निस्प्रभावी भयो भन्ने भ्रम उत्पन्न भइरहेको छ त्यसैले संविधान कार्यान्वयनका लागि चाहिने नीति बनाउनुपर्नेछ ।