नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं बैठकको दोस्रो दिनको छलफल आज पनि जारी छ। बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्षिप्त धारणा राखेका थिए।आइतबार धुम्बाराही शंखपार्कस्थित स्मार्ट दरबार बैंक्वेटमा सुरु भएको बैठक पुस २४ गतेसम्म चल्नेछ।
त्यस्तै सत्तारुढ दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजपनि जारी छ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्ने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए। प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका थिए।