नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनालले नेकपा एमाले परित्याग गरेका छन्।
फेसबुकमा उनले स्टाटस लेखेका छन् – ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन।’
साथै उनले आफू स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि काम गरिरहेको पनि उनले लेखेका छन्। ‘राष्ट्रघाती दोषीहरूलाई कानूनी कठघरामा पुर्याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ’, उनले लेखेका छन्, ‘म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु।’
नेपाल प्रहरीको २६औं प्रहरी प्रमुखका रूपमा खनाल २०७४ चैतदेखि २०७६ माघसम्म आइजिपी भएका थिए। अवकाशपछि उनी नेकपा एमालेसँग जोडिएका थिए। एमालेमा लागेपछि खनालले दुई महिनापछि भएको चुनावमा काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाए। तर नराम्रोसँग पराजित भएका थिए।जनता समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवलाई २०७७ वैशाख १० मा महोत्तरी घरबाट पूर्वमहानिरीक्षक खनालसहितको टोलीले काठमाडौं ल्याएर एक होटलमा राखेको थियो।
यादवले आफूलाई दबाब दिएर काठमाडौं ल्याइएको र होटलबाट भागेर पार्टी नेताको सम्पर्कमा पुगेको बताएपछि नेकपा एमालेका नेता महेश बस्नेत र खनाललगायतविरुद्ध अपहरण जाहेरी दर्ता भएको थियो।