सरकारको प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विरोधीले हल्ला चलाएकै भरमा सरकार नढल्ने बताएका छन्।
विरोधीले सरकार ढल्छ भनेर हल्ला गरेपनि उक्त हल्ला नेपाली उखान ‘झिँगाको श्रापले डिंगा मर्दैन’ भनेजस्तै भएको उल्लेख गरे।
‘सरकार गठन भएको दिनदेखि नै विरोध भइरहेको छ। यो सरकार ०८४ सालसम्म चल्ने भयो भनेपछि विरोधीले सरकार जान्छ भनेका हुन्,’ पत्रकारले सोधेको एक प्रश्नको जवाफमा गुरुङले भने, ‘राजनीतिमा गर्ने खेती हो, यो सरकारले बाँकी ३ वर्ष पूरा गर्छ। नेपाली उखान छ नि– झिँगाको श्रापले डिंगा मर्दैन।’
नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित सरकारले बाँकी ३ वर्षको अवधि पूरा गर्ने उनको जिकिर छ। मन्त्रिपरिषद्का निर्णय सुनाउन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले विरोधीले हल्ला चलाएकै भरमा सरकार नढल्ने बताएका हुन्।
यसअघि आइतबार चितवनमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले सरकार फेरबदलको कुरा निराधार रहेको बताएका थिए।