मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन्।
भक्तपुरस्थित उनकै घरबाट उनलाई नेपाल प्रहरीको सीआईबी टोलीले मंगलबार पक्राउ गरेको हो।
प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएपछि पक्राउ परेका हुन्।
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडियो कलमार्फत कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए।
प्रमाण भन्दै उनले सार्वजनिक गरेको स्क्रिनसटका विषयमा विभिन्न टीकाटिप्पणी भइरहेका छन्। तर अधिकांशले भने प्रसाईंले सार्वजनिक गरेको उक्त प्रमाण पत्यारिलो नभएको बताइरहेका छन्।
मंगलबार दिउँसोदेखि प्रसाईंले राखेको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ।
सामाजिक सञ्जाल फेसबुकमा अनुप नेपाल नामको आइडीबाट त्यही स्क्रिनसटलाई भिडिओ बनाएर हालिएको छ।
प्रसाईंले केही समय अघिदेखि प्रधानमन्त्री ओलीलाई यस्तो आरोप लगाउँदै आएका थिए।
यो विषयमा एमालेका महासचिव शंकर पोखरेलले नक्कली कागजात बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बदनाम गराउने षडयन्त्र भइरहेको बताएका छन्।
प्रसाईंले गरेको सोमबारको पत्रकार सम्मेलनमा प्रसाईंले प्रस्तुत गरेका कागजातलाई इंगित गर्दै पोखरेलको यस्तो टिप्पणी सार्वजनिक भएको हो।
‘देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयारगरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र हो,’ उनले लेखेका छन्, ‘कुनै पनि समाजका लागि षडयन्त्र र अराजकता त्यस समाजको भविष्यलाई वर्वाद बनाउने विषवृक्ष हो। यस प्रकारको षडयन्त्र र अराजकतावाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो।’
यसअघि सिधाकुराडटकमले एक अडियोलाई आधार बनाएर सनसनीपूर्ण तवरले भिडियो सामग्री बनाएको थियो। बिचौलियाहरूसँगको सेटिङमा न्यायाधीशहरूले फैसला गर्न गरेको आरोप उक्त भिडियोमा लगाइएको थियो। तर उक्त अडियो गलत प्रमाणित भएपछि सिधाकुराका सञ्चालक युवराज कँडेल र सम्पादक नवीन ढुंगाना तीन महिनाका जेल चलान भएका थिए। तर माफी मागे एक सातामा नै रिहा गर्न सर्वोच्चको फैसला रहेकाले उनीहरू माफी मागेर सातापछि रिहा भएका थिए।
उक्त अडियो सिधाकुरालाई दिने व्यक्ति पनि जेल चलान भएका छन्।