यही मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज (मंगलबार) उम्मेदवारको नामावली प्रकाशन हुने भएको छ।
आज साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ। यस्तै बुधबार बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने र सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुने आयोगले बताएको छ।
यसैगरी सोहीदिन दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ। उपनिर्वाचनका लागि आइतबार मनोनयनपत्र दर्ता गरिएको थियो। मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।
विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदैछ।