गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन्। ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका उनलाई मंगलबार काठमाडौंको सानोभर्याङबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो।
ज्यान मार्ने उद्योग मुद्दामा उनी कात्तिक २० गते सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए। मनाङेलाई २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो।
तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए। न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो।
मनाङेलाई चक्रे मिलनमाथि आक्रमण गरेको अभियोगमा सजाय सुनाइएको थियो। प्रहरीले आजै उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गर्ने तयारी गरेको छ।
पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङ निर्वाचन क्षेत्र नम्बर–१ ‘ख’बाट निर्वाचित स्वतन्त्र सांसद हुन्।