सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद सजाय सुनाइएका गण्डकीका पूर्वमन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य दीपक मनाङेले फैसलाको पूर्णपाठ आएपछि उपस्थित हुने बताएका छन्।
प्रेस विज्ञप्ति जारी गर्दै मनाङेले अदालतको फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुने जानकारी गराएका हुन्। अदालतको फैसला आएपछि उनी मोबाइल अफ गरेर बसेका छन्।
‘फैसला आउँदाको दिनदेखि केही गुणस्तरहीन सञ्चारमाध्यमहरुबाट तारन्तार आइरहेका कलहरुले गर्दा केही समयका लागि मैले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको छु,’ उनको विज्ञप्तिमा उल्लेख छ, ‘यही विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमहरुमा भ्रामक समाचार सम्प्रेषण भइरहेको पाएको छु। यसमा मेरो आपत्ति छ। अन्तमाः सम्मानित सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु।’
मंगलबार मात्रै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको थियो।
उच्च अदालतले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएपछि उनी सर्वोच्च गएका थिए। मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख)बाट निर्वाचित स्वतन्त्र सांसद हुन्।