नेपाली कांग्रेसले मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा उत्रन लागेको छ।
मंसिर १६ गते ३३ जिल्लाका रिक्त ४४ पदका लागि उपनिर्वाचन हुँदैछ। सो उपनिर्वाचनका लागि नेपाली कांग्रेसले गठबन्धन नगर्ने जनाएको हो। महासमिति बैठक र केन्द्रीय समितिको निर्णयअनुसार कांग्रेस निर्वाचनको तयारीमा लागेको हो।
२०७९ मा भएको स्थानीय तह चुनावमा कांग्रेसले तत्कालीन सत्ता गठबन्धनमा रहेका दलहरूसँग पद बाँडफाँट गरेर चुनाव लडेको थियो।
स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक महामन्त्रीसमेत रहेका विश्वप्रकाश शर्माले उपनिर्वाचन एक्लै लड्ने पार्टीको निर्णय रहेको जानकारी दिए।
उपनिर्वाचन तयारीलगायत विषयमा छलफल गर्न शर्मा संयोजकत्वको समितिको बैठक बुधबार बस्ने जनाइएको छ।
मंगलबार (कात्तिक २०) गतेसम्मउम्मेदवारका आकांक्षीहरूका नाम सम्बन्धित कार्यसमितिमा पठाइसक्न मातहत समितिलाई कांग्रेसले निर्देशन दिएको थियो। जसअनुसार पार्टीका क्षेत्रीय कार्यसमितिदेखि सम्बन्धित कार्यसमितिहरूले माथिल्ला तहमा उम्मेदवारका आकांक्षीको नाम पठाइसकेका छन्।
उपनिर्वाचनका लागि यही मंसिर २ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवार दर्ताको कार्यतालिका छ। मंसिर १३ गते राति १२ बजेदेखि प्रचारप्रसार निषेध अवधि लागू हुने निर्वाचन आयोगले जनाएको छ।