प्रतिपक्षको खबरदारीलाई सामान्य रुपमा लिए सरकारले नसोचेको मूल्य चुकाउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चेतावनी दिएका छन्।
माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले संसद र सडकमा सरकारले त्यो प्रतिरोध देख्नुपर्ने र जसको कल्पना पनि नभएकाे बताए। प्रचण्डले बाढीपहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाउन देखिएकाे भन्दै यस्तो हर्कत सरकारका लागि महंगो पर्ने बताए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘सहकारी ठगीमा जोडिएका सत्तापक्षीय नेतालाई सरकारले बचाउ गरेकाे बताएका छन्। सहकारी ठगी प्रकरणमा दोषी देखिएका कांग्रेस एमालेका नेताहरुलाई अनुसन्धानमा नल्याएकोमा बिरोध गरे।
उनले संसदीय समितिले कांग्रेस र एमालेका नेताहरुलाई पनि दोषी ठहर गरेकोमा उनीहरुलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको बताए। आफू प्रधानमन्त्री हुँदा गल्ती गर्नेको सूचिमा प्रचण्ड भेटिए पनि पक्राउ गर भनेर राज्यसंयन्त्रलाई निर्देशन दिएको उल्लेख गर्दै प्रचण्डले भने, ‘हाम्रो स्पष्ट कुरा के हो भने दोषी कोही पनि नछुटोस, निर्दोष कोही पनि नपरोस्।’
कतिपयले आजको खबरदारी सभालाई रवि लामिछानेलाई बचाउने सभाको रुपमा गलत ब्याख्या गरेको उल्लेख गर्दै उहाँले दोषी सबै सजायको भागिदार हुनुपर्ने तर सरकारले सत्तापक्षीय नेतालाई बचाउने र प्रतिपक्षीलाई कारवाही गर्ने प्रवृत्तिको बिरोध गरेको बताए। उनले सरकारका गलत कदमका विरुद्ध सदन र सडक दुबै मोर्चाबाट प्रतिवाद गर्ने बताएका छन्।