सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रस्ताव गरेका छन्।
आइतबार प्रधामन्त्री निवास बालुवाटारमा पुगेका कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस्तो प्रस्ताव गरेका हुन्।
देउवाका साथमा परराष्ट्रमन्त्री आरजु देउवा र गृहमन्त्री रमेश लेखक पनि थिए। एमालेबाट प्रधानमन्त्री ओलीका साथै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेल बैठकमा सहभागी थिए।
देउवाको प्रस्तावमा प्रधानमन्त्री ओली सहमत भएकाले सत्तामा सहभागी अरू दलसँग पनि सल्लाह गरी न्यूनतम साझा कार्यक्रम बनाउने सहमति भएको बताइएको छ।
‘छलफलमा कांग्रेस-एमाले सरकारको न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्ने सहमति छ,’ बालुवाटार स्रोतको दाबी छ।
देउवासँग छलफल गरेपछि ओलीले सरकारमा सहभागी दलहरुको बैठक बोलाउने तयारी गरेका छन्।
कांग्रेस र एमालेबीच असार १७ गते सातबुँदे सहमति भएअनुसार कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए।
ओली सरकारमा जसपा, लोसपा र नउपा जनमतका सांसद पनि मन्त्री छन् भने जनमत पार्टीको पनि समर्थन छ।
सरकार बनेको दुई महिना पुग्न लाग्दा पनि न्यूनतम साझा कार्यक्रम भने बनेको छैन।