मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध  भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ जनालाई प्रतिवादी बनाएको छ। अख्तियारले उनीहरुविरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबी गरेको छ।

अन्त:शुल्क स्टिकर खरिद घोटालामा मुख्यसचिव अर्यालसहित सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, तत्कालीन आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्य र उपमहानिर्देशक टंकप्रसाद पाण्डेविरुद्ध सार्वजनिक संघ संस्था सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो। शाक्य अहिले अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख छन् भने पाण्डे भन्सार विभागको उपमहानिर्देशक पदमा कार्यरत छन्।

यस्तै आन्तरिक राजश्व विभागका गणेश विक्रम शाही, सूचना प्रविधि केन्द्रका सफल श्रेष्ठसहित शाखा अधिकृत रविन्द्र प्रसाद पौडेल र लेखा अधिकृत विष्णु प्रसाद गौतमलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। हरि वल्लभ घिमिरे ,खरिद परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्ट सेल प्रालिका निर्देशक केशव शर्मा, प्रिट सेल प्रालिलाई पनि प्रतिवादी बनाइएको छ।

सञ्चार तथा सूचना प्रविधि सचिव हुँदा सुरक्षण मुद्रण विकास समितिको अध्यक्षको हैसियतमा मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो। मुख्यसचिव अर्यालविरुद्ध अन्त:शुल्क स्टिकरसहित, बिलिङ सिस्टमलगायतका अनियमिततामा अख्तियारले अनुसन्धान गरिरहेको छ। अन्त:शुल्क स्टिकरबाट मुख्यसचिवविरुद्ध फायर खोलेको अख्तियारले थप मुद्दा पनि अघि बढाउने तयारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय