अख्तियार दुरुपयोग अुनसन्धान आयोगले गरेको अनुसन्धानमा मुख्यसचिव वैकुण्ठ अर्याल भ्रष्टाचारमा संलग्न भएको देखिएको छ। अर्याल भ्रष्टाचारमा संलग्न भएको देखिएपछि आयोगको टोलीले विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ।
अर्यालविरुद्ध मुद्दा दायर गर्ने तयारीका साथ विशेष अदालतमा पुगेको छ। अन्त:शुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानमा देखिएको छ।
यो प्रकरणमा आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालसहित ६ जनाविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको हो। आइतबार विशेष अदालतमा मुद्दा दर्ताको लागि अख्तियारको टोली पुगेर दर्ताका प्रक्रियामा काम गरिरहेको छ।
मदिराको बोलतमा राखिने अन्तशुल्क स्टिकर छपाइको क्रममा अर्यालसहितका सरकारी अधिकारीले भ्रष्टाचार गरेको देखिएको अख्तियारको आरोपमा छ।
आन्तरिक राजस्व विभागका लागि अन्तशुल्क स्टिकर छपाइका लागि सेक्युरिटी प्रिन्टिङ प्रेसले टेन्डर आह्वान गरिएको थियो। ४३ करोड ३२ थान स्टिकर प्रतिथान ८५ पैसाका दरमा छाप्ने गरी छपाइको ठेक्का पाएको प्रिन्टसेलसँग सम्झौता भएको थियो।
प्रतिस्टिकर ३५ पैसामा छापिने गरेकोमा ८५ पैसा प्रतिस्टिकरमा छाप्नेगरी ठेक्का लगाएर अनियमितता गरेको भन्दै उजुरी अख्तियारमा पुगेको थियो। यसपछि आयोगले छानबिन अघि बढाएको थियो।