नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा काठमाडौँमा आफ्नो पार्टीलाई कसैले हराउन नसक्ने दाबी गरेका छन्।
शनिबार काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले अघिल्लो निर्वाचनमा स्थानीय तहसहित संसदीय निर्वाचनमा पनि एमालेले हार व्यहोरेको भन्दै आगामी निर्वाचनमा त्यस्तो नहुने बताए।
गएकाे निर्वाचनमा काठमाडौँमा स्थानीय निकायको निर्वाचन संसदीय निर्वाचनमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेकाे भन्दै ओलीले भने ‘विभिन्न ठाउँको मेयर र प्रदेशसभा हारेका हौँला। प्रदेशसभा हारेका हौँला। त्यो एउटा निर्वाचनको कुरा हो। मोर्चाको हारले युद्धको हार हुँदैन।’
एमालेले एउटा मोर्चामा एक अवधि मात्रै हारेको भन्दै ओलीले भने, ‘आगामी निर्वाचनमा विरोधीलाई पनि भन्न चाहन्छु, कान खोलेर सुने हुन्छ, आगामी निर्वाचनमा काठमाडौँ जिल्ला एमालेको किल्ला हाे। आफ्नो आफ्नो तयारी गरे हुन्छ, मोर्चा कसे हुन्छ, कम्मर कसे हुन्छ नेकपा एमालेले पराजित गर्छ, पछार्छ पछार्छ। यो कुरा खुला छ। किनभने यो जरुरी छ, देश, विकास, सभ्यता र संस्कृतिका लागि यो जरुरी छ,’ ओलीले भने।