नेकपा (एमाले) का सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले  संयमता गुमाउँदै गएको बताएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा  विशेष समयमा लिएर बोल्दै सांसद भट्टराईले यस्ताे बताएका हुन्।  ‘काठमाडौं महानगरपालिका र सडक विभागका बीचमा केही मतभेदहरू उत्पन्न भए। त्यसको दोष पनि एमालेले बोक्नुपर्ने, एमालेका अध्यक्षले बोक्नुपर्ने, म काठमाडौं महानगरपालिकाका प्रमुखमा बालेन शाह निर्वाचित भएर आएपछि हाम्रो पार्टी अध्यक्षले तबला उपहार दिनुभएको थियो,’ उनले भने, ‘किन ड्रम नदिएर तबला दिनुभयो। ड्रम त उहाँले बजाएरै आउनुभएको थियो। सोची विचार गरिकन तबला उपहार दिनुभयो। त्यसको अर्थ हो अब तपाईं तबलाको धुनमा काम गर्नुहोस्। तबलाको अर्थ हो– करुणा, प्रेम, सद्भाव, संयम हो। तर काठमाठौं महानागरपलिकाका प्रमुखले संयमता गुमाउँदै जानुभएको छ।’

‘अग्रजहरूको त्याग र बलिदानबाट अहिलेको व्यवस्था आएकाले म काठमाडौंको मेयर बन्ने अवसर मैले पाएको हुँ भन्ने नबिर्सिनुस्,’ उनले भने। सचिव भट्टराईले आफ्नै आमाको अस्मितामाथि प्रश्न नउठाउन पनि मेयर शाहलाई आग्रह गरे।

‘आफ्नै आमाको अस्तित्वमाथि चिथोर्दै हुनुहुन्छ, आफ्नै आमाको अस्मितामाथि प्रश्न उठाउनु भएको छ,’ उनले प्रश्न गर्दै भने, ‘आफ्नै आमाको अस्मितामाथि प्रश्न उठाउँदै हुनुहुन्छ भने तपाईंले यो समाजलाई कता लैजाँदै हुनुहुन्छ ?’

न्यूरोडमा फुटपाथ विस्तार गर्ने योजना सडक विभागले रोकेपपिछ मेयर बालेनले एमालेमाथि आक्रोश पोख्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय