प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन्।
मधेश प्रदेशमा हाल संघीय सरकारमा रहेका दलहरूकै गठबन्धनको सरकार बनाउने विषयमा छलफलका लागि ओली सिंहदरबार पुगेका हुन्। माओवादी र एमालेकाका साथै जनमत, लोसपालगायतका दललाई पनि गठबन्धनमा ल्याउने विषयमा छलफल हुने बताइएको छ। उता कांग्रेस, लोसपा र नेकपा एसको पनि समर्थनमा जसपा नेपाल भने विश्वासको मत लिएर अघि बढ्ने योजनामा छ। तर लोसपा र नेकपा एसले जता समर्थन गर्छन् उतैतर्फ सरकार बन्ने अवस्था छ।
उता नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले भने दुई नाउमा खुट्टा राखेर अघि बढ्न नसकिने बताएका छन्। केन्द्रमा एक गठबन्धन र प्रदेशमा अर्को गठबन्धनमा आफूहरू सामेल हुन नसक्ने उनले संकेत गरेका हुन्। यद्यपि मधेश प्रदेशमा कुन पक्षलाई समर्थन गर्ने भन्ने विषयमा पार्टीले निर्णय गर्न बाँकी रहेको बताएको छ। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जेठ २३ गते विश्वासको मत लिने कार्यक्रम राखेका छन्।