सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि सरकार दृढतापूर्वक अघि बढेकाे सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन्।
सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८१ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको उल्लेख गरिन्। शर्माले ‘साइबर स्पेस’लाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको बताइन्। शर्माले साइबर स्पेस’लाई सुरक्षित गर्न लागिएकाे बताइन्।
“राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको छ । सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमा तथा दूरसञ्चार ऐनको पुनरावलोकन गर्ने काम भइरहेको छ”, मन्त्री शर्माले शुभकामना सन्देशमा भनेकी छन्, “सूचना तथा सञ्चार प्रविधि नीति, २०७२, दूरसञ्चार नीति, २०६० र ब्रोडब्याण्ड नीति, २०७१ लाई पुनरावलोकन गरी एकीकृत नीति तर्जुमाको काम अघि बढिरहेको छ।”
उनले सुरक्षित सूचना प्रविधिको प्रयोगबाट सुशासन र समृद्धि स्थापित गर्ने कार्यमा ठोस योगदान गर्न सबैमा अपिलसमेत गरिन्। ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै छ ।