महावीरले मार्गदर्शन गरेको जनकल्याणको बाटोमा लाग्नुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलले जोड दिएका छन्।
जैन धर्मावलम्बी सबैलाई शुभकामना दिँदै राष्ट्रपति पौडेलले सबै नेपालीहरूबिच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्। महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास लिएको छु’ राष्ट्रपति पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
राष्ट्रपति पौडेलले जनकल्याणको लागि महावीरले गरेको मार्गदर्शनलाई पालना गर्न सके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सद्भाव कायम गर्न सकिने विश्वास व्यक्त गरेका छन्।
जैन धर्मका प्रवर्तक महावीरको २६२३ औँ जन्मजयन्ती आज जैन धर्मावलम्बीहरुले विविध कार्यक्रम गरी मनाउँदै छन्। नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ ।हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीहरूद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ। महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्तहरू परिपालन गरेका थिए।
करिब २६ सय वर्षअघि वैशाली गणतन्त्र (हाल भारत बिहारको मुजफ्ररपुर जिल्लाको बसाढ गाउँ) को क्षत्रीय कुण्डलपुरमा बाबु सिद्धार्थ तथा आमा त्रिशलाका तेस्रो सन्तानका रूपमा वर्धमानको जन्म भएको थियो । उनै बर्धमान पछि महावीर स्वामी बनेका थिए ।