नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आज पेस भएका प्रतिवेदनउपर समूहगत छलफल हुने भएको छ।
छलफल पश्चात आज नै प्रतिवेदन पारित गरी बैठक समापन हुनेछ। परिषद्को प्रथम बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
हिजोको बैठकमा पार्टी जीवनको लोकतान्त्रिकरणका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरी समाजवादमा पुग्न आगामी निर्वाचनमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने सवाललाई केन्द्रमा राखिएको थियो। हिजोको बैठकमा आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरणका लागि चाल्नुपर्ने कदमबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग सुझाव मागेको थियो।
जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा अङ्गीकार गर्दै आएको एमालेले उक्त लक्ष्य पूरा गर्न वर्तमान सरकारलाई दिगो, परिणाममुखी र सफल तुल्याउँदै अर्थतन्त्रलाई चलायमान बनाउने, सहकारपीडितलाई न्याय दिने, सार्वजनिक सेवालाई प्रभावकारी बनाई सुशासन कायम गर्ने, सङ्घीयता कार्यान्वयनका जटिलता फुकाउने सवालमा नीतिगत प्राथमिकता र चासो दिएको छ ।
परिषद् बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी छन् ।