पौष कृष्ण औँसीका दिन आज परम्परागत रूपमा पितृलाई तर्पण, सीधादान, र पिण्डदान गरी श्राद्ध गरिँदैछ। वैदिक सनातन धर्मअनुसार दक्षिणायनको अन्तिम औँसी भएकाले आजको श्राद्ध महत्वपूर्ण मानिन्छ।
श्राद्ध गर्ने परम्पराअनुसार पितृलाई आह्वान गरी विधिपूर्वक श्रद्धा अर्पण गरिन्छ। विशेषगरी नुवाकोट र रसुवाको बेत्रावती, गोकर्ण उत्तरगया, त्रिवेणीधाम, रिडी, र देवघाटजस्ता तीर्थस्थलमा भक्तजनहरूको भीड देखिन्छ।
दर्श श्राद्धमा घर र मावलीतिरका तीन/तीन पुस्तालाई पिण्ड दिइन्छ, जबकि महालय श्राद्धमा सबै पितृलाई पिण्ड दिने गरिन्छ। महालय श्राद्धको विधि अहिले लोप हुँदै गएको धर्मशास्त्रविदहरू बताउँछन्।
आज सोमबारे औँसी परेकाले मौन स्नान गरी मनोकामना पूरा हुने मान्यता छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार औँसीका दिन पितृकर्म सूर्य अस्ताउने समयमै सम्पन्न गर्नुपर्छ।
हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको बेत्रावती उतरगया तीर्थ क्षेत्रमा यस वर्ष पनि ठूलो भीड लागेको छ। हेर्नुस् तस्वीरहरू
तस्वीर सौजन्यः आभास रिजाल