इलामको सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा शुक्रबारदेखि ‘अन्तु पर्यटन महोत्सव’ सुरु भएकाे छ। सूर्योदय नगरपालिकाको आयोजनामा दुई दिने पर्यटन महोत्सव आयोजना गरिएकाे आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताए। अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सो महोत्सवको आयोजना गरिएकाे हाे ।
उपप्रमुख बरालका अनुसार महोत्सवको पहिलो दिन आज ‘सूर्योदय आइडल’ को ‘ग्रान्ड फिनाले’, विभिन्न खाद्य परिकारका स्टल, दीपावली र साङ्गीतिक कार्यक्रम राखिएको छ। त्यस्तै दोस्रो दिन शनिबार अन्तुडाँडाबाट सूर्योदय अवलोकन, शुभकामना आदानप्रदान, लोपोन्मुख लाप्चा जातिको वेशभूषा प्रदर्शन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, खाद्य परिकारका स्टल, ‘सूर्योदय आइडल’को विजेता घोषणा, पुरस्कार वितरण र साङ्गीतिक कार्यक्रमलगायत राखिएको बरालले जानकारी दिए। ‘सूर्योदय आइडल’को ग्रान्ड फिनालेमा आठजना प्रतिस्पर्धीबाट विजेता छनोट गरिनेछ।
महोत्सवका अवसरमा नगरपालिकाले लागुपदार्थ दुर्व्यसनी, मदिरा तथा सुर्तीजन्य वस्तुको नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी सन्देशमूलक कार्यक्रम राखिएको छ ।
महोत्सवमा आउने पर्यटकका लागि अन्तुमा रहेका ६६ वटा घरबास ९होमस्टे०, निजी ढङ्गले चलेका होटल र कटेजमा गरी पाँच हजार जनाले रात बिताउन सक्नेगरी व्यवस्थापन गरिएको संयोजक बरालले बताए।
महोत्सव अवधिभर १० हजार पर्यटक भित्रिने अपेक्षा गरिएको उनको भनाइ छ। महोत्सव आयोजना गर्न रु १० लाख खर्च हुने आयोजकको अनुमान छ।