काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक पुनर्संरचनामा सफल भए पनि प्रत्येक नागरिकको जीवन रुपान्तरण गर्न अर्को क्रान्ति गर्ने समय आएको बताएका छन् ।
रुपन्देहीको लुम्बिनीमा जारी विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् । प्रचण्डले आफ्नो नेतृत्वमा राजनीतिक संरचना र दिशा परिवर्तन गर्ने सशस्त्र क्रान्ति पनि सम्पन्न भएको उल्लेख गर्दै त्यही क्रान्तिको फलस्वरुप लोकतान्त्रिक संविधान जारी गर्न सकिएको बताए ।
‘मैले केही समय पहिला सम्राट अशोक बन्ने समय आएको भाव व्यक्त गरेको थिएँ, जुन मेरो अन्तरआत्माको आवाज थियो’, उनले भने, ‘मैले आध्यात्मिक रुपान्तरणको खाँचो रहेको महसुस गरेको छु । म यो भूमिबाट यसतर्फ जिम्मेवारीबोध भएको भावना व्यक्त गर्दछु ।’
उनले देशको अन्तर्राष्ट्रिय छविमा व्यापक परिवर्तन ल्याउन र विश्व समुदायमाझ नेपाल शान्तिपूर्ण विश्वबन्धुत्वको पक्षमा रहेको सन्देश दिन सबैको सामूहिक प्रयास, प्रतिबद्धता र अठोट आवश्यक रहेको उल्लेख गरे ।