संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पहिलो पटक गाजामा तत्काल र दिगो युद्धविराम माग गरिएको एउटा नयाँ प्रस्ताव पारित गरेको छ।

उक्त प्रस्तावमा सबै बन्धकहरूको तत्काल र निस्सर्त रिहा गर्न समेत माग गरिएको छ। यसअघिका तीन वटा प्रस्तावमा विशेषाधिकार अर्थात् भीटो प्रयोग गरेको अमेरिका आफ्नो अडान फेर्दै यस मतदानमा सहभागी भएन। बाँकी सबै १४ देशले प्रस्तावको पक्षमा मतदान गरे। मतदानपछि राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस(ग्रिनफिल्डले अन्य सदस्यहरूलाई हमासलाई अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले तय गरेको युद्धविराम सम्झौता स्विकार्न दबाव दिन आग्रह गरिन्।
पछिल्लो यस प्रस्तावलाई परिषद्का १० अस्थायी सदस्यहरूले अगाडि सारेका थिए।

अक्टोबरमा युद्ध सुरु भएपछि बारम्बार युद्धविरामको माग गर्न असफल हुँदा सुरक्षा परिषद्‌मा गतिरोध देखा परेको थियो। अमेरिकाको पछिल्लो कदमलाई उसको साझेदार इजरेलसँग उसको गाजामा जारी युद्धका विषयमा भएको मतभेदको सङ्केतका रूपमा समेत हेरिएको छ। वासिङ्टनले गाजामा बढिरहेको मृतक सङ्ख्यालाई लिएर इजरेलको आलोचना गरेको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ हालसम्म ३२ हजार भन्दा धेरै मानिसहरूको मृत्यु भएको छ।

अक्टोबर ७ मा हमासले कडा इजरेली अवरोध तोडेर गरेको आक्रमणमा १,२०० जनाको ज्यान गएको थियो भने २४० जनालाई बन्धक बनाएर लगेको थियो जसमध्ये १०० जनाभन्दा धेरै यसअघि अस्थायी युद्धविरामका क्रममा छाडिएका थिए। इजरेली बमबारीमा मारिनेमध्ये धेरैजसो महिला र बालबालिकाहरू रहेको बताइएको छ।

अमेरिकाले इजरेललाई गाजामा थप राहत पुर्‍याउन काम गर्न भनेको छ। उसले गाजाको समग्र जनसङ्ख्या गहिरो खाद्य असुरक्षा सामना गरिरहेको जनाएको छ। राष्ट्रसङ्घले इजरेललाई सहायतामा अवरोध पुर्‍याएको आरोप लगाएको छ। तर इजरेलले भने राष्ट्रसङ्घलाई राहत वितरण गर्न असफल भएको आरोप लगाउँदै आएको छ।

– बीबीसी 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय