खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि बर्खामा पनि काठमाडौँमा मेलम्चीको पानीको आपूर्ति बन्द नहुने बताएका छन्।
आज मन्त्रालयमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा मन्त्री यादवले विगतका बर्खामा काठमाडौँमा पानी आपूर्ति बन्द हुने भए पनि अब भने बाह्रै महिना पानी आउने गर्ने गरी काम भइरहेको बताएका हुन्।
मन्त्री यादवले अहिले पनि विभिन्न जिल्लाका नागरिकले डोकोमा पानी बोक्नुपर्ने अवस्था कायमै रहेकाले नागरिकले खानेपानी डोकोमा बोकेर जोहो गर्नुपर्ने अवस्थाको अन्त्य गर्न मन्त्रालयले ठोस कदम चालिरहेको उल्लेख गरे।
उनले भने, ‘म नेपालका तराई, पहाड र हिमाली जिल्लाका बिकट गाउँ बस्तीमा पुगेको छु। कतिपय गाउँ त पानीका लागि बसाइँसराइँ गर्नुपर्ने अवस्थामा छन्। ती क्षेत्रहरूका नागरिकका लागि शुद्ध खानेपानीको व्यवस्था गर्न म ठोस कदम चाल्दै छु।’
मन्त्री यादवले मेलच्नी नजिकैको अर्को खोलाको पानी पनि काठमाडौँ ल्याउने विषयमा अध्ययन भइरहेको बताए। मेलम्चीको पानी कुनै कारणबस ल्याउन नमिल्ने अवस्थाको विकल्पमा मकवानपुरको सिस्नेरी खोलाबाट काठमाडौँ पानी ल्याउने गरी काम भइरहेको उनको भनाइ थियो।
देशका अधिकांश ठाउँमा अहिले पनि खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घरघरमा धारा र सबै नागरिकमाझ स्वच्छ, सफा खानेपानी पुर्याउन योजनाबद्ध ढङ्गले काम गरिरहेको मन्त्री यादवले उल्लेख गरे।