राष्ट्रिय सभा सदस्य वामदेव गौतमले शब्दकोषबाटै ‘दलित’ शब्द हटाउन प्रस्ताव गरेका छन्।
बिहीबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन्।
‘हाम्रो डिक्सनरी (शब्दकोष)बाट दलित शब्द हटाइदिऔँ। दलित शब्द आउँछ नै भन्नुहुन्छ भने संविधान संशोधन गरेर भएपनि सबै ठाउँबाट हटाउनुपर्यो,’ उनले भने।
सबै ठाउँबाट दलित शब्द नहटाएसम्म दलित समुदायमाथिको भेदभावको अन्त्य गर्न नसकिने उनको भनाइ थियो।
छलफल र बहसको थिचोमिचोले छुवाछुत र सामाजिक भेदभाव अन्त्य नहुने उनको जिकिर छ।
‘एकातिर दलितमाथि भेदभाव भयो, अधिकार हनन भयो भन्ने भाषाशैली संविधान, ऐन, कानुनदेखि जुनसुकै विद्वानहरूले लेख्ने दस्तावेजमा पनि दलित समुदाय मात्र भनेको छ,’ उनले भने ।
दलित समुदायमाथि विगत २० वर्षदेखि अन्याय भइरहेको उल्लेख गर्दै सरकारले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने गौतमले बताए।
‘दलित भनेको के? आउँछ। हामीले संविधान बनाउँदा पनि ख्याल गरेनौं। अब ख्याल भएको छ। त्यो संशोधन हुनुपर्छ। दलित समुदाय भन्ने विषय अन्त्य गर्नुपर्छ। यस्तो थिचोमिचो कुरा गरेर भेदभाव अन्त्य हुँदैन,’ गौतमले भनेका छन्।
बैठकमा बोल्ने अधिकांश सांसदहरूले दलित समुदायको अधिकार र विकाससम्बन्धी विधेयक छिटो ल्याउनुपर्ने माग राखेका थिए।