प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागु पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गरेका छन् । होलीपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
दाहालले होली पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघूलनलाई प्रतिनिधित्व गर्ने बताएका छन्। उनले भनेका छन्, ‘भौगोलिक दृष्टिले सानो भएर पनि दर्शन, सभ्यता, संस्कृति, पर्वहरू एवं विशिष्ट पहिचानका कारण नेपाल विश्व मानचित्रमा वैभवशाली देशका रूपमा स्थापित छ । नेपाली समाजमा विद्यमान बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरूले हाम्रो राष्ट्रिय स्वाभिमान र गौरवलाई मात्रै स्थापित गरेका छैनन्, एकले अर्काको पहिचान, स्वाभिमान र संस्कृतिलाई सम्मान र आत्मसात गर्ने राष्ट्रिय संस्कृतिको विकाससमेत गरेका छन् । रङ्हरूको पर्वका रूपमा स्थापित होली पर्व पनि त्यस्तो पर्व हो, जसले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तर्घुलनलाई प्रतिनिधित्व गर्दछ ।
अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान हो । यहाँका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै साँस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू छन् । हाम्रा चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउँछन् । समुदायलाई एकताबद्ध गर्न सघाउँछन् । विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन एवं फरक जाति र समुदायको संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्दछन् ।’
असत्यमाथि सत्य र खरावमाथि असल पक्षको विजयको रूपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात् होली पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्दछ । तसर्थ, होली पर्व सम्पूर्ण नेपालीहरूका साझा पर्वका रूपमा स्थापित भएको समेत उनले बताए।
ताजा समाचार
लोकप्रिय
© 2024: मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Maintained by: saastechnepal