भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) साहलाई काठमाडौँ महानगरमा निषेध गर्न सक्ने चेतावनी दिएको छ।

खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजीको माग गर्दै निकालिएको र्‍यालीलाई सम्बोधन गर्दै अभियन्ता राजाराम तण्डुकारले यस्तो चेतावनी दिएका हुन्। बिहीबार ललितपुरको कुपण्डोल पुलबाट कंकेश्वरी मन्दिर परिसर इनाटोलमा भेला भएर माइतीघरसम्म खबरदारी र्‍याली निकालिएको हो।

सहर सवारी साधनमैत्री मात्र नभई, जनतामैत्री पनि हुनुपर्नेमा काठमाडौं महानगर सचेत हुनुपर्ने राजारामको भनाइ छ। जनताको नीजि सम्पत्तिलाई बिनामुआब्जा, बिनाक्षतिपूर्ति हड्प्ने, डोजर लगाउने जस्ता त्रासपूर्ण गलत काम काठमाडौँ महानगरले गरिरहेको बताए।

‘सहर सवारीसाधन मैत्री होइन्, जनतामैत्री हुनुपर्छ । जनताको नीजि सम्पतिलाई बिना मुआब्जा, बिना क्षतिपूर्ति हड्प्ने, डोजर लगाउने, त्रास सृजना गर्ने कामहरु गलत भइरहेको छ,’ उनले भने, ‘हाम्रो खबरदारी मात्र हो, भएन भने हामी यस्तो काम गर्ने प्रमुखहरुलाई कार्यालय प्रवेश निषेध गर्छौं । जस्तै बालेनलाई हामी काठमाडौं महानगर निषेध कार्यक्रम पनि घोषणा गर्न सक्छौँ।’

कार्यक्रममा सहभागीहरुले ‘मापदण्डका नाममा जनतालाई उठिबास लगाउन पाइँदैन’, ‘गैरन्यायिक मापदण्डको नाममा राज्यद्वारा लुटिएको भूमि फिर्ता गर’, ‘जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’, ‘आवास र सम्पत्तिको सवैधानिक हकको ग्यारेन्टी गर’, ‘निजी घरजग्गा माथि हस्तक्षेप बन्द गर’ लगायतका प्ले कार्ड प्रदर्शन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय