लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को कथा ‘संग्रामपुर’ उपन्याससँग मिलेको संग्रामपुर लेखकले दाबी गरेका छन्।
उपन्यासकार डा. शिवशंकर बस्यालले सन् २०२० मा बजारमा आएको उपन्यास ‘सङ्ग्रामपुर’ को मूल कथा फिल्मसँग मिलेको बताएका छन्। शनिवार साँझ फेसबुकमा लामो स्ट्याटस लेख्दै उपन्याससँग फिल्मको कथा मिलेको ९ बुँदे आधार समेत प्रस्तुत गरेका छन्। उनले उल्लेख गरेका बुँदा हेर्दा उपन्याससँग फिल्मको मूल कथा मिलेको देखिन्छ।
फिल्मका दुई मुख्य पात्र पूर्णबहादुर र कमलजस्तै ‘सङ्ग्रामपुर’ मा रूपमान र समीर, ‘सङ्ग्रामपुर’ मा स्त्री बिछोडको प्रसङ्ग फिल्ममा पनि हुनु, उपन्यासको समीरजस्तै कमल पनि टप विद्यार्थी हुनु, समीरले जस्तै कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु, रूपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गएजस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु, आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटकपटक रूपमानलाई समीरले निरन्तर सोधिरहने जस्ता फिल्मको कथाका मूल प्रसङ्गहरू उपन्याससँग मिलेको लेखक बस्यालको दाबी रहेको छ।
उपन्यासमा मूल पात्र रूपमान भरिया रहेको र पूर्णबहादुरको सारंगीमा पूर्णबहादुर गन्धर्व चरित्रमा रहे पनि बाबु-छोराको सम्बन्धलगायत फिल्मको मूल भावसँग मेल खाएको दाबी बस्यालले गरेका छन्।
उनले माथिका बाहेक उपन्यासका अन्य प्रसङ्ग र प्रभाव समेत फिल्ममा देख्न सकिने बताएका छन्। यही कात्तिक १५ देखि प्रदर्शनरत यस फिल्ममा विजय बराल मुख्य भूमिकामा छन्।
सरोज पौडेलको कथा र निर्देशन रहेको यस फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्।
फिल्मले बक्स अफिसमा आक्रामक व्यवसाय गरिरहेको छ।
फिल्ममा बुबाको भूमिकामा विजय बराल र छोराको भूमिकामा प्रकाश सपूत छन्। फिल्ममा अञ्जना बराइली, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शङ्कर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको समेत अभिनय छ।
ताजा समाचार
लोकप्रिय
© 2024: मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Maintained by: saastechnepal