नेपाल महर्षि वैदिक फाउन्डेसनको आयोजनामा अतिरुद्र विश्वकल्याण विराट् महायज्ञ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । हिन्दु धर्मका प्रबुद्ध सन्त एवं गुरुहरूको उपस्थितिमा प्रमुख अतिथि श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले नौ कन्या एवं ११ बटुकका साथमा दीप प्रज्वलन गरी महायज्ञको औपचारिक उद्घाटन गरेका हुन् ।

महायज्ञको उद्घाटन गर्दै नेपाल सन्त समाजका राष्ट्रिय अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले नेपाली समाजलाई यज्ञको महत्त्व बुझाउन अझै कठिन भइरहेको बताए । विधिविपरीत आयोजना हुने यज्ञ र यज्ञका नाममा हुने अन्य कार्यले वास्तविक पवित्र उद्देश्यका यज्ञहरूको महत्त्व छायामा पुगेको उनले बताए । ‘यज्ञ वेदोक्त हुनुपर्छ । वेदले जसरी भन्छ, त्यसरी यज्ञ हुनुपर्छ । वेदको भावविपरीत गरिएका यज्ञले देवकार्य पुष्टि हुँदैन । हामी सबैलाई वेदोक्त सिद्ध कर्म गर्न प्रेरणा मिलोस्,’ उनले भने ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कृष्णदास महाराजले अतिरुद्र विराट् महायज्ञको आयोजनाले नेपालको श्रीवृद्धिमा योगदान पुगेको बताए । ‘यस महायज्ञको माध्यमबाट धर्म, संस्कार र संस्कृतिको रक्षा गर्दै भगवान् पशुपतिनाथको पुण्यभूमि नेपाल राष्ट्रको नाम विश्वभर फैलाउने काम भएको छ,’ उनले भने ।

नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक दीपकप्रकाश बाँस्कोटाले वैदिक सनातन धर्ममा विश्वास गर्नेहरूको एकताबाट नै नेपालबाट विश्वशान्तिको सन्देश दिलाउन सकिने बताए । महायज्ञअन्तर्गत दैनिक भावातित ध्यान शिविर, प्राङ्गारिक कृषि मेला, भागवत् गीता सार वाचन, भजनकीर्तन तथा वैदिक एवं आधुनिक विज्ञान महासम्मेलनलगायतका कार्यक्रमहरू सञ्चालन हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय