नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज कुकुरलाई पूजा आराधनासहित मीठा—मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदै छ।
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए।
महाभारतको कथा अनुसार, जब धर्मराज युधिष्ठिर आफ्नो भाइहरू र एक कुकुरसँग स्वर्ग यात्रामा जान्छन्, सबै भाइहरू बीचमै पतन हुन्छन्, तर कुकुरले अन्त्यसम्म पनि युधिष्ठिरलाई साथ दिन्छ । पछि त्यो कुकुर धर्मराजको प्रतीक भएको कुरा थाहा हुन्छ। कुकुरलाई यमराजको दूतको रूपमा पनि मानिन्छ, जसले सत्य, निष्ठा, र धर्मको मार्गमा चल्नेहरूको सम्मान गर्छ । यो कथा कुकुरको निष्ठा, सद्गुण र सहनशीलताको प्रतीक भएकाले जसलाई कुकुर पूजा गरी सम्मान गरिन्छ।
समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताए । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ।
आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बालेर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको धर्मशास्त्रविद् भट्टराईले बताए । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ।