एयर इन्डियाको जहाजमा बम राखिएको ‘हल्ला’ निराधार भएको पुष्टि भएको छ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाले उक्त हल्ला निराधार भएको पुष्टि भएको जानकारी दिए। ‘जहाजमा केही पनि फेला परेन। हल्ला निराधार भएको पुष्टि भयो,’ निरौलाले भने, ‘जहाजलाई नयाँ दिल्ली पठाउने तयारी भइरहेको छ।’

सोमबार अपरान्ह दिल्ली उड्न लागेको उक्त जहाजमा बम रहेको सूचना आएपछि नेपाली सेना र नेपाल प्रहरीले संयुक्त सर्च गरेका थिए।

‘झन्डै तीन घण्टा जहाजमा सर्च गरिएको थियो,’ उनले भने, ‘शंकास्पद कुनै पनि वस्तु फेला परेन। अबको केही समयमा नै जहाजलाई दिल्ली पठाउँछौँ।’

जहाजमा सर्च गरिएको अवस्थामा विमानस्थलको कुनै पनि सेवा प्रभावित नभएको उनको भनाइ छ। दिउँसो ३ बजे जहाज त्रिभुवन विमानस्थल अवतरण भएको थियो।

पौने ४ बजेको उडान रहेको उक्त जहाजमा केही यात्रु चढेपछि उडान रोकेर चेकजाँच थालिएको थियो।

जहाजमा बम भएको सूचना आएको जानकारी दिएपछि उडान रोकेर चेक भएको विमानस्थल कार्यालयको भनाइ छ।

यसअघि कात्तिक ६ गते दिल्लीबाट काठमाडौं अवतरण गरेको भिस्तारा एयरलाइन्सको विमानमा बम राखिएको सूचना आएको थियो। २-३ घण्टाको सर्चपछि बम राखिएको सूचना फेक भएको पुष्टि भएको थियो।

पछिल्लो समय भारतीय एयरलाइन्सका जहाजमा बमको फेक सूचनाले उडानहरू प्रभावित भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय