सरकारले थप ५७ हिमाल आरोहणका लागि खुला गरेको छ।
२१ असोजको मन्त्रिपरिषद्को बैठकले आरोहणका लागि थप ७५ हिमाल खुला गर्न स्वीकृति दिएको हो। पर्यटन विभागले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ५७ नयाँ हिमाल आरोहण खोल्ने गरी सिफारिस गरेको थियो । सोही अनुरुप पर्यटन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले हिमाल आरोहणका लागि स्वीकृति दिएको हो।
यसरी आरोहण खुला गरिएका हिमालमा पाँच हजार मिटरभन्दा माथि छ हजार पाँच सय मिटरसम्म कम उचाइका छन्। विभागले नेपाल पर्वतारोहण सङ्घसँगको सहकार्यमा थप हिमाल खुलाइएको हो।
पर्यटन विभाग निर्देशक राकेश गुरुङले थप ५७ हिमाल आरोहणका लागि खुला गरिएसँगै नेपालमा कूल ४ सय ६१ हिमाल आरोहणका लागि खुला भएको बताए। थप हिमाल खुलेसँगै पर्वतीय पर्यटनमा सकारात्मक सन्देश गएको उनको भनाइ छ।
एनएमएका अध्यक्ष निमानुरु शेर्पाले हिमाल खुलाउने निर्णयले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिएको बताए। अध्यक्ष शेर्पाले सकेसम्म आरोहण योग्य हिमाल खुलाएर बढीभन्दा बढी पर्यटक आकर्षण गरिनुपर्ने आवश्यकतामा जोड दिए। सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आरोहणयोग्य हिमाल क्रमशः खुला गरिने उल्लेख छ।