काठमाडौं उपत्यकामा रातभर झरी परेको छ।
गएरातिदेखि पर्न थालेको पानी निरन्तर परिरहेको छ। निरन्तरको झरीले उपत्यकाका खोला तथा नदीमा जलसतह बढेको छ। काठमाडौंसहित देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ। मकवानपुर, झापा, सप्तरी, मोरङ, सुनसरीका विभिन्न ठाउँमा भारी वर्षा भएको महाशाखाले जनाएको छ।
मकवानपुरको बकैया नदी जुरेलीबजार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास पुगेको छ। नदी तटीय क्षेत्रमा बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
सप्तरीको खाडो नदी, पूर्व–पश्चिम राजमार्ग जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास पुगेको छ। झापाको सिस्ने, मोरङको हरैँचा र केराबारी, सुनसरीको धरान, सप्तरीको रुपनी बजार वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ।