त्रिशूली नदीमा हराइरहेका २ वटा बस अझै भेटिएका छैनन्। आज बिहान ८ बजेदेखि सिमलतालदेखि घुमाउने–केराबारीसम्म दोहोर्‍याएर खोजी गर्न लागिएको छ।

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूली नदीमा हराइरहेका दुईवटा बस र ती बसमा सवार यात्रुहरुको खोजी आज १२ औं दिन पनि जारी छ।

खोजीमा संलग्न प्राविधिकहरुका अनुसार त्यहाँ केही शंकास्पद वस्तु देखिएकाले दोहोर्‍याएर खोज्न लागिएको हो।

नेपाली गोताखोर र भारतको राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ) का प्राविधिकहरुसहितको संयुक्त टोलीले आज बिहान ८ः३० बजेबाट सिमलतालदेखि घुमाउने–केराबारीसम्म दोहोर्याएर खोजी कार्य गर्ने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका थिए।

उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए। शनिबारसम्म २५ जनाको शव फेला पारिएको छ भने १८ जनाको सनाखत भएका छन्। बाँकी यात्रु र दुईवटै बसको अवस्था पत्ता लाग्न सकेको छैन।

बस र यात्रुहरुको खोजीमा गत शनिबारदेखि भारतको राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ) टोलीसमेत परिचालित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय