त्रिशूली नदीमा हराइरहेका २ बस र ५७ यात्रु अझै फेला परेका छैनन्।

शुक्रबार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको पहिरोमा परेर यात्रुसहितका २ बस बेपत्ता छन्।

लगातारको खोजी कार्य जारी भए पनि हालसम्म ५ वटा शव मात्र भेटिएको छ। शनिबार २ जना र आइतबार ३ जनाको शव भेटिएको हो। आइतबार घटनास्थलभन्दा ५० किमि तल गैंडाकोटदेखि गोलाघाट क्षेत्रमा थप तीन शव फेला परेका हुन्। शनिबार पनि सोही क्षेत्रमा दुई शव भेटिएका थिए।

चितवन प्रशासनले काठमाडौंदेखि गौर जाँदै गरेको बसमा ३८ जना र वीरगन्जदेखि काठमाडौं जाँदै गरेको बसमा २७ गरी ६५ जना यात्रु रहेको जनाएको छ। जसमा तीन यात्रु पौडिएर बाँच्न सफल भए पनि दुई बस र बाँकी ५७ यात्रु भने तीन दिन बित्दा पनि फेला पर्न सकेका छैनन्। सनाखत भएका पाँच शव आफन्तले बुझिसकेको चितवन प्रशासनले जनाएको छ।

शुक्रबार बिहान साढे ३ बजेतिर खसेको पहिरोले बगाएर त्रिशूलीमा हराएका दुई बससँगै यात्रुको खोजीमा लगत्तै सुरक्षाकर्मी परिचालन भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। बस घटनास्थल नजिकै रहेको संकेत मिलेको भन्दै प्रजिअ यादवले सोमबार गोताखोर पानीभित्रै गएर खोजी गर्ने बताए।

आइतबार गृह सचिव एकनारायण अर्याल र सुरक्षा प्रमुखहरूको टोलीले घटनास्थलको निरीक्षण गरेको थियो। हराएका यात्रुका आफन्तले विदेशबाट गोताखोर मगाएर भए पनि खोजी गर्न माग गरिरहेका छन्।

त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय