चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशुलीमा बेपत्ता २ वटा बस खोजी कार्य आजका लागि स्थगित भएको छ।

बिहानैबाट त्रिशुलीमा खसेका बस खोजिए पनि साँझसम्म नभेटिएकाले आजलाई खोजी कार्य स्थगित गरिएको हो।  चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादबका अनुसार अब भोलि बिहानबाट मात्रै बेपत्ता बस र यात्रु खोज्न सुरु गरिनेछ। उनले आज दिनभर खोजतलास गर्दा पनि बस फेला पार्न नसकिएको बताए।

नदीमा पानीको बहाव घटेको छैन । रातिको समयमा भएकाले जोखिम पनि हुने भयो’, उनले भने, घटनास्थलबाट ३, ४ किलोमिटर तलसम्म खोज्दा पनि भेटिएन।’ उनले नदीमा पानीको बहाब उच्च र धमिलो भएका कारण खोजीकार्यमा समस्या भएको बताए।
बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ। हुक लगाएर खोज्ने क्रममा एन्जल डिलक्स बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रजिअ यादबले बताए।

त्रिशुलीमा हराएका बस खोज्न सशस्त्रका ४ वटा, नेपाल प्रहरीको एउटा गरी ५ मोटरबोट, गोताखोर टोली लगायत प्रयोग गरिएको थियो। भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशुलीमा बगाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय