शनिबार परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
काठमाडौँको नागार्जुन नगरपालिका ३ मा ट्रिपिकल रेस्टुरेन्टको किचेन कोठमा माथिबाट पहिरो आई पुरिँदा वर्ष २२ का मनोज वि.क. घाइते भई मनमोहन अस्पतालमा उपचारका क्रममा निधन भएको छ। स्याङ्जाको बिरुवा गाउँपालिकामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। बिरुवा गाउँपालिका वडा ६ लामाखेतका ईश्वरी लम्सालको घर पहिरोले पुरेको हो ।
पहिरोमा परी बिरुवा-६ माझकोटकी ६५ वर्षीया गुहेश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्माको ज्यान गएको हो। माझकोटकै ७१ वर्षीय माधव शर्मा बेपत्ता छन्। उनको खोजी भइरहेको स्याङ्जा प्रहरीका सूचना अधिकारी डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।
पर्वतमा पहिरोले २ जना पुरिएका छन्। फलेवास नगरपालिका १ कार्कीनेटामा पहिरो जाँदा २ जना बेपत्ता हुन्। स्थानीय कुलप्रसाद पाध्याको गोठमा पहिरो झरेको बताइएको छ। भैँसीबाख्रा उद्धार गर्न जाँदा स्थानीय ४० वर्षका झलकप्रसाद शर्मा र आँधिखोला गाउँपालिका ३ का ३३ वर्षीय तुलसी प्रसाद शर्मा बेपत्ता भएका हुन्।
त्यस्तै दाेलखाकाे गौरीशंकर गाउँपालिका ९ मा बाढीमा परी बर्ष ६३ की जाङ्मु शेर्पालाई वेपत्ता भएकी छिन्। सोही स्थानमा बाढीले ३ वटा घर समेत बगाएको छ। दाङको राजपुर गाउँपालिका २ का राजकुमार यादवलाई राप्ती नदी पार गर्ने क्रममा नदीले बगाई बेपत्ता भएका छन्। गुल्मीको रुरु क्षेत्र गाउँपालिका ३ मा पहिरोले घर पुर्दा वर्ष ४५ की रुपा टमटा घाइते भएकी गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।