कुनै पनि कर्म पुरा हुन अथवा सफलता प्राप्त हुन केही छोटो केही लामो समय लाग्दो रहेछ। चाहे वैज्ञानिक रूपमा होस चाहे प्राकृतिक, सामाजिक, भौतिक अथवा राजनीतिक रूपमा होस समयले निर्धारण गर्दो रहेछ। समय लामो भएपछि असम्भव कुरा पनि सम्भव हुन्छ भने समय घटायो भने सम्भव पनि असम्भव हुँदो रहेछ। यो बुझे पछि उद्देश्य पुरा गर्न सङ्कल्प गर्दा समयको अन्तराल सँगै सफलता या असफलताको वातावरण बन्दै जाने रहेछ।
नेपाली एउटा उखान छ – “तँ सोच,म पुर्याउँछु” साँच्चै मेरो जीवनमा मैले कुनै महान काम नगरे पनि मेरा सफलताको उचाइमा पुग्न तिनै सकारात्मक बिचार,उद्देश्य र सङ्कल्पले बल पुर्याएका छन्। कतिपय मेरै निराशा,नकारात्मक विचारले असफलता र अधोगति तिर पुग्न बल पुर्याएछन्। साँच्चै यो आफू भित्रको जागरण, ज्ञान अथवा बेहोसी पनले निस्कने परिणाम रहेछ। सफलताको लागि सङ्कल्प र निरन्तरता सबै कर्ममा आवश्यक रहेछ।
यस पटक कयौँ समयदेखि थाँती रहेको रारा ताल, मुगु ,जुम्ला पुग्ने पन्ध्र वर्ष अगाडिको मेरो उद्देश्य माथि मेरो सङ्कल्पले काम गर्यो। यति बेला तराईमा गर्मीको चहलपहल भइरहेको बेला उता कर्णालीका सबै आँखा पाखाहरूमा हल्का चिसोले मिठास दिई रहेको थियो। त्यही मौका पारेर म र मेरा सहकर्मी मित्र धनवीर रावत ज्यु मुगुको रारा र जुम्ला घुम्ने सहमतिमा कोहलपुर बसपार्कमा भेट भयौँ।
रात्रि बसमा गाडी स्टाफले अनेकौँ परिपाटी र झन्झट मिलाउँदै करिब नौ बजेतिर गाडी कोहलपुरबाट बाटो छिचोल्दै सुर्खेतको बसपार्क लाटी कोइली हुँदै बाङ्गे सिमल तिर सोझियो। सुर्खेत लाटी कोइली जाने बाटो भन्दा अगाडि बढ्ने हाम्रो यात्रा नौलो थियो। अधेरी रात गाडीको बत्तीको प्रकाश जति थियो त्यति मात्र नियाल्दै रातको एक बजे सुर्खेतको बड्डीचौरमा आरामको लागि एउटा होटेल अगाडी गाडी रोकियो। अधेरी रात, विकटता र अनिद्रा दुबैलाई ख्याल गरेर सुत्नुको विकल्प थिएन। १००/ १०० रुपैयाँ दिएर एक खाटमा दुई जना मिलेर सुत्यौँ। बिहान उज्यालो छर्लङ्ग भैसकेको थियो। सुर्खेतको उत्तर पश्चिम सिमाना बड्डी चौर हल्का दक्षिण पट्टी फर्केर पानढल भएको चिटिक्कको बजार देखिन्थ्यो। बिहानै स्थानीय केरा, काँक्रा ,मेवा,अन्य फलफूल तरकारीहरू सुपथ मूल्यमा बिक्री वितरण हुँदै थिए।
हाम्रा लागि अबको यात्रा जिज्ञासायुक्त हुँदै थियो। नेपालगन्ज देखि मुगु गमगढी सम्मको लामो यात्रा र कर्णालीको विकटताले दुर्घटनाको मन्द त्रसित बिचारले बाँच्ने आसमा मनमा च्वास्स बनाइ राख्थ्यो। म आफैँलाई ढाडस दिएर सकारात्मक भावना जागृत गर्थेँ। यदि बाटो र गाडी चालक ठिक भयो भने विकटताले केही फरक पर्दैन। आँट हुनेहरूले बिकट ,असहज अपत्यारिलो काम बाट सुरु गर्छन् र पछि सहज र सफलता हात लाग्छ। राम्रोमा नराम्रो लुकेको हुन्छ र नराम्रोमा राम्रो छिपेको हुन्छ।
बिहान गाडी अगाडि बढ्यो। चालक रमेश खत्रीले गाडीमा कर्णालीका देउडा गीत घन्काउँदै जङ्गलको बाटो उचाइ नाप्दै रमणीय मोड र घुम्ती पार गर्दै दैलेखको तल्लो डुङ्गेश्वर, मैनी खोला ,स्याला, राकम कर्णालीको ठुलो भूभाग नियाल्दै गयौँ। आफ्नै गतिमा हिँड्न अभ्यस्त निलो लामो कर्णाली नदी पारी पट्टी अछाम जिल्लाको पूर्वी तट आफ्नै परिपाटीमा गजधम्म भएर निरन्तर नियालेर हेरि रहेको हुन्छ। दैलेखको सेरोफेरो थुप्रै बस्तीहरू बाटाका चिया नास्ता र खानाका होटेल यात्रीहरूको पर्खाइमा देखिन्छन्।
दैलेखकै खिर्की ज्युलाको सिर्फु खोलामा गाडीको टायर मर्मत गरेर बदल्नु पर्ने भयो। त्यही मिठो खाना खायौँ। कर्णाली नदीको पारी पट्टी अछामको चिल्तडा,माल्तडा भन्ने गाउँमा ढुङ्गाले छाएका घर चिरिच्याट्ट देखिन्थे। तर विकटताले निकट हुन दिएको थिएन।
खिर्कि ज्युलामा सिर्फु खोला एउटा सानो बजार रहेछ। जहाँ माथिका गाउँ बस्ती बाट झरेर किनमेल गर्छन् कति यही मार्ग भएर सुर्खेत ,नेपालगन्ज, काठमाडौँ पुग्छन्। अझ पनि दैलेखको सिमाना सकिएको थिएन। हाम्रो नयाँ परिवेशको उत्सुकता चुलिँदो र थपिँदो थियो। कालिकोट जिल्ला प्रारम्भ हुने सङ्केत पाइसकेका थियौँ। किनभने तल कर्णाली नदी माथि चट्टानको बाटो हुम्ला बजार भन्दा नजिक एउटा पुरानो गेट थियो त्यहीँबाट कालिकोट जिल्ला लागेको प्रस्टिन्थ्यो। केही बेर हिँडेपछि गाडी मोडिएर तलतिर झर्यो त्यही बाट कालिकोटको सदरमुकाम मान्म माथि आकाशतिर घाँटी फर्काएर हेरेपछि देखिन्थ्यो। जुम्लाबाट बगेर आएको तिला नदी र हुम्ला र कालिकोटको पश्चिम उत्तर भएर बगेर आउने नेपालकै लामो नदी कर्णाली दैलेख कालिकोटको सिमाना हुम्ला शेरिघाटमा मिसिन्छ। कालिकोटको सदरमुकाम मान्म पुग्नु नपर्ने भए तिला नदीको किनार किनार कालिकोटको अन्तिम सिमाना नाग्मा र जुम्ला छोटो समय र दुरीमा पुग्न सकिने रहेछ। जिल्ला सदरमुकाम कालिकोट लगायत थुप्रै बिकट बस्तीमा यातायातको सुविधा पुर्याउने सरकारको नीति अनुरूप बाटो त्यहाँ पुग्नु अत्यन्तै सकारात्मक थियो।
कर्णाली नदिमा मिसिने तरखरमा रहेको तिला नदीको माथि शेरी घाटमा हालेको पुल तरेर थुप्रै मोड र घुम्ती बस्ती छिचोल्दै सदरमुकाम मान्म बजार खाँडा चक्र नगरपालिका वडा नं १ बसपार्कमा पुग्यौँ। तलतिर हेर्दा र विकट पहरामा बनाइएका भौतिक संरचना नियाल्दा अत्यास लाग्यो। हामी तराई पहाड भोगेका झेलेका लाई त्यो विकटता आश्चर्य लाग्नु स्वाभाविक थियो।
हामी उभिएर नियाल्दा नजिकै तरकारी ,फलफूलका पसलहरूमा ग्राहकको चहलपहल थियो भने होटेलहरू अहिले सुनसान देखिन्थे। एउटा उखान छ” जब सूर्य अस्त, तब नेपाली मदिरामा मस्त” भनेझैँ हुन सक्छ भन्ने लाग्यो ।
सुनाउँथे पुग्नेहरू कर्णालीमा सबैभन्दा भन्दा विकट कालिकोट हो भनेर। मलाई लाग्थ्यो कालिकोट सदरमुकाम आसपास देखेर भने होलान्। विकटता भित्र सुगमता अवश्य होला। सदरमुकाम जस्तो संवेदनशील स्थान पनि कतै फराकिलो रमणीय चौरहरू नदेखिनु प्रशंसा गर्न मिलेन। मान्म भन्दा पूर्व तर्फको अग्लो डाँडा बुट्यानहरूले घनिभूत शोभनीय देखिएको मेरो मानसपटलमा ताजै छ। सायद त्यहाँ यति बेला काफलहरू पनि पाक्दै गरेका होलान् भन्ने अनुमान गरेँ। एक जनालाई सोधेँ हो रहेछ। जताततै खेत बारी र घरहरू सबै ढुङ्गाका पर्खालले उठाइएका थिए। भनाइ अनुसार कालिकोट र मुगुको पश्चिम उत्तर हिमालको सेरोफेरो हुम्ला हुँदै बगेर आउने नेपालीको लामो नदी कर्णाली पारी र वारी गाई भैँसी भेडा ,च्याङ्ग्राको पालन र ओसार पसार हुने थलोको रूपमा चिनिँदो रहेछ।
मान्म बाट हाम्रो गाडी अगाडि लाग्यो। राता डाबा भन्ने ठाउँमा पुगे पछि साँघुरो बाटोमा अर्को गाडी बिग्रिएर सबै गाडी जाममा परे। साना गाडी हरू बिस्तारै छिर्थे । ठुला गाडी छिर्ने सम्भावना थिएन। दुई घण्टा पछि त्यो गाडी बन्यो र बाटो खुल्यो। खुसी हुँदै कालिकोटका थुप्रै भिर पाखा र चट्टानहरू पार गर्दै पूर्व तर्फ लागिरहेको अवस्थामा पुनः तिला गुफा गा.पा को बेगाड ज्युलाको एउटा मोडको बाटो गाडीले काट्न नसकेर जाम परेको रहेछ। तिला नदीको किनारमा अवस्थित त्यो बेगाड ज्युला कुनै बेला हटारुहरू बास बस्ने थलोको रूपमा परिचित रहेछ। हामी त्यहाँ मज्जाले ३ घण्टा जुम्ला,मुगु जाने साथी सँग गफ चुटेर बस्यौँ। हामीलाई त्यहाँको वस्तुस्थिति रहन सहनसँग घुलमिल हुने बुझ्ने अवसर जुर्यो ।
कालिकोट जिल्ला प्राकृतिक रूपमा ढुङ्गा र चट्टानले सुसज्जित र सम्पन्न रहेछ। सुन्दर रङ्ग बिरङ्गका बलिया पाट मिलेका ढुङ्गाको अथाह भण्डारण भएको देख्दा मलाई लाग्यो यो पनि राज्यको अकुत सम्पत्ति हो। मानव जातीका लागि आवास अति आवश्यक चिज हो। यो निर्माण गर्ने कार्य मानव सभ्यताको सुरुवात देखि मानव अस्तित्व रहँदा सम्म रहिरहने छ। त्यसका लागि दुई वटा मात्रै विकल्प छ।
१) माटो बाट तयार पारिने इँटा (कच्ची वा पक्की) यो पछि विकास भएको वैकल्पिक उपाय हो। इँटा लामो समयावधि पछि समाप्ति तिर जान्छ।
२) प्राकृतिक रूपमा अजर अमर युगौँ युग धान्न सक्ने ढुङ्गा। जहाँ पनि जहिले पनि आफ्नो आकार प्रकार र अस्तित्व बचाइ राख्दछ।
त्यसैले यहाँ कालिकोटको एउटा मात्र पहाड बाट बलिया र पाट मिलेका ढुङ्गा उत्खनन गरेर उपकरण द्वारा साइज दिएर उत्पादन गरी पूर्व पश्चिमका पहाड , मधेस ,तराई र भारतमा समेत निर्यात गर्न सकिन्छ। चौपट परेका ढुङ्गा आवास निर्माण र निकासीका लागि र अन्य टुक्रे ढुङ्गालाई हजारौँ क्रसर मेसिन लगाइ मेट्रियल तयार पारी विकास निर्माणका साथै निकासीका लागि प्रयोग गर्न सकिन्छ। यो वृहत् महापरियोजना कालिकोट जिल्लामा मात्रै पनि हजारौँ हजार वर्ष चालु रहनेछ। ती डाँडा काँडा भविष्यमा माटो भरेर विकसित आवास क्षेत्रमा परिणत हुनेछन्।
नेपाली बेरोजगार लाखौँ युवा युवती र श्रमजीवीहरूले एक पछि अर्को रोजगारी निरन्तर पाइरहने छन्। सरकारले काठमाडौँ , भित्री मधेस र तराईको उर्वर माटोलाई कङ्क्रिटमा परिणत गराउनु र उत्पादन ह्रास गराइ इँटा उत्पादन गराउनु भन्दा बिकट भएर बसेको ,सदुपयोग बिहिन भएर रहेको , प्राकृतिक रूपमा सुन्दर सम्भावना बोकेर थुप्रिएको हामी सबै नेपाली र विशेष गरी कर्णाली कालिकोटको सम्पत्तिलाई उद्योगको रूपमा स्थापित गर्न सत्य तथ्य बुझ्न एक संसदीय समिति गठन गरोस् भन्ने मेरो विनम्र आग्रह छ। त्यो रिक्त समयले मलाई यो विचारणीय कुरा अगाडि तेर्सायो। हामीलाई हतार मान्नुपर्ने अवस्था थिएन। राति कतै बाट डोजर आयो र त्यो लोड गाडी साइड लगाएर गयो। बल्ल गाडीहरू अगाडि बढे।
रात छिप्पिँदै थियो। भोक र निद्रा हामी सँगै थियो। कालिकोटको उत्तर पूर्वी सिमाना नाग्मा राति एक बजे पुगियो। त्यहाँको अलि ठुलो र चलेको स्मार्ट होटेल रहेछ। जताततै बाट आएका छुटपुट गाडीहरू त्यहीँ खाना खाने र आराम गर्ने परिपाटी रहेछ। मान्छेको भिडभाडमा चिसो भैसकेको खाना सुत्ने प्रयोजनका लागि खाइयो। सुत्नको लागि अर्को ठाउँ जानु पर्यो, घडीमा रातिको दुई बज्दै रहेछ। निद्रा नपुग्ने निश्चित थियो। निद्रा पुगेन भने शरीर दिनभर आलस्य बन्छ थाह थियो तर छ बजे गाडी हिँड्ने भएकोले पाँच बजे नै उठ्नु पर्यो। त्यहाँ केही फराकिलो र बजारको चहलपहल रहेछ। नाग्मा बजार कालिकोटको पूर्व तिलागुफा गा.पा जो जुम्लाको पश्चिम सिमाना सँग जोडिएको छ। त्यहीँबाट उत्तर तिर जुम्लाको सिजा क्षेत्र र पूर्व तर्फ जुम्ला खलङ्गा सदरमुकाम जाने बाटो छुटिन्छ। नाग्मामा २०७८ सालको कोरोना कालमा बजारको पश्चिम भित्तामा केही पुराना केही नयाँ घरहरू थिए। त्योभन्दा माथि बिना रुख वृक्ष लम्बेतान पहाड रहेछ। त्यहीँबाट एउटा ठुलो पहिरो जाँदा त्यहाँ रहेको एउटा चिया नास्ता पसल पुरिँदा दस व्यक्तिको मृत्यु भएको रहेछ। साथै अन्य आसपासका घरहरू पनि काम नलाग्ने अवस्थामा पुगे भन्ने भनाइ स्मार्ट होटेलका भाइ धर्मेन्द्र अधिकारीले सुनाए।
नाग्मा बाट हामी बिहान छ बजे कालिकोटको सीमा नाघेर जुम्लाको सिजा (सिंजा) तर्फ मोडियौँ। सुरुमा साँघुरो उराठ जस्तो लाग्ने टाढा टाढा घर बिहानको सिरेटो यो पनि जुम्ला होर? भन्ने लाग्यो। सिजा भएर आउने हिमा नदी पारि पट्टी माथि धुपी सल्लेरी वन किनारमा स्याउका बारी ओखर हरू भर्खरै नयाँ पालुवा पलाएर फुल्ने तरखरमा देखिन्थे। जति जति बाटो पछाडि पर्दै जान्छ गाडी अगाडि दौडिन पुग्छ त्यति त्यति सिजा फराकिलो बन्दै जान्छ। जुम्ला जिल्ला कनका सुन्दरी गाउँपालिका हिमा नदीको सिञ्चित क्षेत्र ,जुगाड ज्युला, कोइरेली ज्युला,बढ्की, आचार्यलही गाउँ ,विष्ट बाडा, असवाडा गाउँ, गोठी ज्युलाको फराकिलो बस्ती गाउँ खेतीयोग्य खेत र पाखाहरू देखेर दङ्ग परियो।
जुम्लाको यो रमणीयता मौलिकता मौलाएको सामाजिक विकास ,यातायातको सुगमता देखेर कतै विकसित मुलुकमा प्रवेश पाएझैँ लाग्यो। त्यत्तिकै गरिएको रहेनछ सिजाको मार्सी चामलको बयान र प्रशंसा। नेपालको उच्च स्थानमा फल्ने मार्सी चामलको महत्त्व र यसको फाइदा बारे नेपाल मात्र हैन संसार भर फैलँदो अवस्थामा छ। मार्सी धान फल्ने खेतका गराहरू ,फाँटहरू हेरेर धित मर्दैन। आँखा नझिम्काएर हेरिरहूँ झैँ लाग्छ। प्रकृतिले कालिकोटलाई त्यति बिकट र त्यो भन्दा टाढा जुम्लाको सदरमुकाम सिजा क्षेत्र र थुप्रै रमणीय पाटन क्षेत्र अथवा मुगुको रारा ताल राष्ट्रिय निकुञ्जले ओगटेको रमणीय क्षेत्र मा सुन्दरतामा ऐश्वर्ययता दिएको देख्दा अचम्म लाग्यो।
सिजा खोलाको बायाँ किनार हुँदै उत्तर पुग्ने राजमार्ग गोठि ज्युला सम्म कतै बाटो मुनी कतै बाटो माथिका सुधारिएका घरहरू लोभ लाग्दा थिए। नजिकै स्याउ र ओखरका बुटाहरू नयाँ पालुवा पलाएर डाँठमा फुल र दानाले आकर्षण दिई रहेका थिए। जुम्लीहरू दौरा सुरुवाल काम्लाको कोटामा चिटिक्क सजिएर हातमा टाउके चिलिम कक्कड सल्काएर तनक्क तान्दै धुवाँ उडाएको कम्ताको रोमाञ्चक लागेन। एक आपसमा गफ गर्दै हरपल समयको सदुपयोग गर्न खप्पिस जुम्लीहरू सबैका हातमा उनका डल्ला र कुरूश चलाउँदै स्विटर , गलबन्दी बुन्दै गएको देखिन्थे। गोठ ज्युला माथिको मोटर बाटोको स्तरोन्नतिका लागि धमाधम चट्टान फोरिँदै थियो। त्यसै कारण गाडीहरू रोकिएको मौका छोपेर सिजा सेरोफेरो नियाल्ने तस्बिर खिच्ने अवसर जुर्यो।
जे हुन्छ राम्रै हुन्छ, जे हुन्छ राम्रैका लागि हुँदो रहेछ। हामी धेरै बुद्धि भएका चञ्चल स्वभावका कारण यो भइदिए त्यो भइदिए यो हुनुपर्ने त्यो हुनु नपर्ने ,आग्रह पूर्वाग्रहले केवल दुःखी हुन्छौँ।
। यी सबै परिवर्तन भएर जान्छ अनि परिवर्तन भएर आउँछ केवल साँछि भएर हेर्नु पर्दो रहेछ। हेर्दाहेर्दै स्काइभेटरले बाटो सम्याए पछि गाडी सुचारु भए। अलि अगाडि गएपछि ऐतिहासिक सिजाली राजाले राज्य गरेको स्थान दुवै तिर बाट हिम नदी बगेको र बिचको अग्लो टाकुरोमा सिजाली राजा अशोक चल्ल दरबारको अवशेष (जग) मात्र देखिने रहेछ। हाल उक्त स्थानको अलि छेउमा कनका सुन्दरी भगवती को मन्दिर निर्माण भएको रहेछ। हामी सिजाको महत्त्वपूर्ण स्थान गोठी ज्युला र सिजाको राज्य स्थान गाउँ बस्ती डाँडा काँडा नियाल्दै सक्दो उचाइमा जुम्लाको उत्तरी सिमाना भुलभुले पुग्यौँ। अघिल्लो रात नाम्जामा निद्रा सँगै सुत्नको लागि खाएको चिसो भात गाडीको दौडाहा दिउँसो एघार बजे सम्म पेट पुरै खालि भएको थियो। भुलभुलेमा बाहिर चिसो सिरेटो निरन्तर चल्दो रहेछ। त्यहाँ दुई तिन वटा खाना खाने होटेल छन्। गाडीहरू यात्रीलाई खाना खुवाउन त्यहीँ लिन्छन् । किनभने त्यहाँ घरायसी वातावरण र स्वादमा खाना खाना पाइन्छ। स्थानीय भेडा च्याङ्ग्राको मासु जुन सुकै सिजनमा पाइन्छ। खाना खाएर त्यहाँबाट हल्का उकालो लाग्दै सिल्टीचौर पाटन हुँदै गाडी मुगु जिल्ला प्रवेश गर्यो। बाटोमा धुपी ,देवार ,पावै सल्लका सल्लेरी वन पार गर्दै ओरालो झरेर पुनः तेर्छो बाटो ताल्चा गाउँ हुँदै दिउँसोको तिन बजे मुगुको सदरमुकाम गमगढी झरियो। बायाँ तिरबाट सल्लेरी पाखा मोड र कुइनेटा काट्दै उत्तर तिर आइपुग्दा केही तल बाक्लो बस्ती देखिन्छ। हो त्यही रहेछ सदरमुकाम गमगढी रुख हरियाली विहीन सुख्खा जस्तो लाग्ने।
दुनियाँमा रारा ताल जति परिचित छ त्यसको तुलनामा मुगु नगण्य मानिँदो रहेछ। एउटा अग्लो मानिसको अगाडि सामान्य मान्छेलाई उभ्याउँदा त्यो धेरै होचो देखिन्छ। हिमालको अगाडि त्यसका तल ठुलठुला पहाड पनि नगण्य लाग्छ। त्यस्तै गमगढी पनि प्रचारको अभावमा रारा तालको तुलना गर्दा ओझेलमा परेको महसुस भयो। साथी भन्दै हुनुहुन्थ्यो- रारा ताल मात्र घुमेर फर्किनु पर्छ कि क्या हो….तर कुनै पनि व्यक्ति,चिज बस्तु अथवा स्थानको सत्य तथ्य बुझ्नको लागि नजिकै बाट स्वयं अनुभव गर्नु पर्छ तब मात्र थाह हुन्छ वास्तविकता। त्यसैले मैले गमगढी पुग्ने र बस्ने निर्णय गरेको थिएँ। हामी गमगढी पुग्यौँ न्युरोडको एउटा जीविका होटेलमा एक दुई दिन बस्ने निधो गर्यौँ। आतिथ्यपूर्ण सत्कार गरेका साहु कर्णसिँ बुढाले त्यहाँको स्थानीय आर्गानिक भोटे चिया पिलाएर गमगढीको बारे आफूले जाने बुझेका कुरा हामीलाई खुलासा गर्नु गर्नु भयो।
मुगुको ऐतिहासिकता
हालको गमगढी भन्दा पूर्व तर्फ तिब्बत र नेपालको सिमानामा रहेको १३ नं सिमा स्तम्भ पिलर नजिकै परापूर्व कालमा एउटा गाउँ नजिकै मधुकल भन्ने एक ऋषिले कठिन तपस्या गरी मुक्त भए। उनै मधुकल ऋषिको तपस्याको निष्कर्ष यस्तो रहेछ- ‘म’ बाट आत्मा अर्थात् मधुकल प्रकाशित आत्मा ज्ञान प्राप्त र ‘गु’ बाट अज्ञानता अन्धकार पार गरेको अवस्थालाई छोटकरीमा ऋषिले मगु भने। बिस्तारै मगु बाट अपभ्रंश भई मुगु भन्न थालियो।
साथै उक्त १३ नं पिल्लर रहेको मगु नाका नेपाल तिब्बत सिमानामा ठुलो व्यापार व्यवसाय आयात निर्यात हुन्थ्यो रे। जब चीनले तिब्बतको क्षेत्र आफ्नो अधीनमा लियो त्यसपछि त्यहाँको नाका व्यापार व्यवसाय धरासयी भयो भन्ने भनाइ छ। १३ नं पिलर डोल्पाको सेफोसणडो तालको उत्तर पश्चिम र छायानाथ हिमालको तटमा अवस्थित मुगु जिल्लामै पर्ने बाङ्गी गाउँ भन्ने थियो। त्यहाँका गाउँलेहरू बसेको ठाउँमा त्यहीँ बाट तामा उत्खनन गरेर तामाका भाँडाकुँडा बनाएर बेच्थे रे। उनीहरूको आए आर्जनको राम्रो व्यवस्था थियो भनिन्छ । त्यहाँ तामा खानी भएको त्यसको सदुपयोग नभएको संझी तत्कालीन श्री ५ को सरकारले उत्खनन गर्नमा प्रतिबन्ध लगाएपछि बाङ्गी गाउँका बासिन्दा त्यहाँबाट विस्थापित भएर हाल जुम्लाको गज्याङकोट तिर लागे। त्यस ठाउँमा अमूल्य यार्सागुम्बा, जम्बु,तामा खानी ,कटुकी लगायत जडीबुटीहरू पाइन्छन्।
आफू भित्र रहेको विना कस्तुरी मृगलाई थाहा नभएर रण वन भौँतारिएर दौडेझैँ बाङ्गी गाउँका बासिन्दा सुख खोज्न आयस्रोत खोज्न जुम्ला तिर लागे। आफूलाई नचिनेर त्यो माटो लाई नबुझेर दीन हीन बनेर जानु गलत थियो। नेपाल सरकारले पनि अमुक बस्ती बाङ्गी गाउँका बासिन्दालाई त्यहीँ बस्ने वातावरण निर्माण गरी तामा खानी उत्खनन उत्पादन गरेर आम्दानीको स्रोतको संरक्षण गरी तामा,अमूल्य जडीबुटीको उपयोगका निम्ति निर्यात गर्नु थियो।
त्यसैको ठिक वारी पट्टी छायानाथ हिमालय छ। महादेव सतीदेवीको मृताङ्ग बोकेर घुम्ने क्रममा रारा ताल हुँदै छायानाथ हिमालमा पुगे र सतीदेवीको अन्तिम शेषाङ्ग पतन भयो र त्यसपछि महादेव कैलाश पर्वत हुँदै मानसरोवर गएको भनाइ मुगुका बासिन्दा कर्णसिंह बुढा र पण्डित ज्ञान प्रसाद भट्ट उपाध्यायले बताउनु भयो। छायानाथ हिमालमा सतीदेवीको अङ्ग पतन भएको स्थानमा तत्काल छायानाथ मन्दिर स्थापना भयो। तर उक्त स्थानमा पुग्न पूजा आज गर्न कठिन हुँदा स्व मन्दिरको प्रतिकारात्मक स्वरूप बनाई मुगुको सदरमुकाम गमगढीको पारी पट्टी चैन गाउँमा प्रतिमा स्थापित गरियो। उक्त छायानाथ प्रतिस्थापना भए लगत्तै उक्त मन्दिरमा युवराज त्रैलोक्य विक्रम शाहले व्रतबन्ध गरी यज्ञ पवित्र धारण गरेको भनाइ छ। साथै सनातन वैदिक हिन्दु धर्ममा महत्त्वपूर्ण चार मुख्य पवित्र स्थल भारतको केदारनाथ,बद्रीनाथ र नेपालको मुक्ति नाथ र छायानाथ हो भनेर त्यहाँका पुजारी अश्विनी कुमार हमाल र पण्डित भट्ट उपाध्यायले बताउनुभयो।
मुगु जिल्लाको रारा ताल कर्णालीको प्रमुख सौन्दर्यको प्रतीक मानिन्छ। तर त्यहाँ घुम्न जाने पर्यटकहरू मुगुको छायानाथ हिमाल,छायानाथ मन्दिर, सदरमुकाम गमगढीको ऐतिहासिकता बारे प्रचारप्रसारको अभाव भएको देखिन्छ। यहाँ नआएर रारा बाटै फर्केर जान्छन्। वास्तवमा रारा पुग्न अगाडि गमगढी बजारको पौराणिक तथ्य , स्थानीय वस्तुस्थिति ,छायानाथ मन्दिर ,छायानाथ हिमालको प्रत्यक्ष अनुभूति गरेर मात्र सौन्दर्यको खानी रारा तालको दृश्यावलोकन गर्न अत्यन्तै लाभ र महत्त्वपूर्ण ठहरिन्छ।
नेपाल सरकारले २०७२ मा राज्य पुनर्संरचना गर्दा मुगु रारा ताल देखी पूर्वी तर्फको भाग स्थानीय बुद्धिजीवी हरूको एकमतले छायानाथ रारा नगरपालिका राख्नुको तात्पर्य त्यसको महत्त्व लाई दर्साउँछ। हाल उक्त छायानाथ हिमाल लगायत आसपास क्षेत्र रारा राष्ट्रिय निकुञ्जको अधीनमा छ। साथै छायानाथ हिमालको पूर्व तर्फबाट तल प्रसिद्ध फोक्सुन्डो ताल र उक्त ठाउँ कर्णालीकै डोल्पा जिल्लामा पर्दछ। साथै उक्त १३ नं पिल्लर, बाङ्गी गाउँ, छायानाथ हिमाल बाट झरेको पानी पश्चिम हुँदै गमगढीको उत्तर पूर्व भएर बग्ने मुगु कर्णाली नदी सोर बाजुरा हुम्लाको कवाडेमा मान सरोवर हुँदै हुम्ला बाट आउने नेपालको लामो नदी कर्णालीमा मिसिन्छ।
मुगुको सदरमुकाम गमगढीमा सिजा राज्यका प्रधानमन्त्री रोवन शाही सिजापति र पृथ्वीनारायण शाहका सेना बिच लडाइँ हुँदा शाहका सेनाले हारे भन्ने भनाइ पनि छ। त्यसैले गम=अडिक,अडान गढी= किल्ला अर्थले गमगढी नामकरण भएको जनश्रुति रहेछ। यसरी हामी गमगढी बजारका गल्ली गल्ली नियल्यौं।
भोलिपल्ट जीविका होटेलको चौथो तला बाट पूर्वतर्फ देखिने नेपाल चिन तिब्बत सिमाना रहेको १३ नं पिल्लर छायानाथ हिमालको उत्तरी किनार बाट सूर्योदय भइरहेको अविस्मरणीय सौन्दर्यात्मक दृश्यलाई क्यामरामा कैद गर्ने अवसर जुर्यो। स्थानीय नगर बस बिहान आठ बजे गमगढी बाट ताल्च विमान स्थल हुँदै सल्लेरी सम्म जाने जानकारी पाएपछि त्यसैमा बसेर बिहानको यात्रा प्रारम्भ भयो। मुगुको एक मात्र विमानस्थल ताल्चा भन्ने गाउँको सिरानमा रहेछ । हामी बायाँ किनार हुँदै राराको प्रवेशद्वार सल्लेरी पुग्यौँ। नजिकै स्वदेशी विदेशी पर्यटक हरूले खाना खाने केही होटेलहरू देखिन्छन्। त्यहीँ रारा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सैनिक ब्यारेक पनि छ।
क्रमशः….