नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण पेट्रोल अभाव हुन थालेको छ।
उपत्यकाका अधिकांश पम्पमा पेट्रोल नभएको सूचना टाँसिएको छ। नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार पेट्रोलिम मजदुरले विभिन्न माग राखी आपूर्ति रोक्दा पम्पहरुसँग बिक्री गर्ने पेट्रोल सकिएको बताए।मजदुरको मागका विषयमा कुराकानी गर्ने प्रयास भइरहेको उनको भनाइ छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वार्ताका लागि पहल गरिरहेको छ। आइतबारबाटै राजधानीका निजी पेट्रोल पम्पले पेट्रोलियम पदार्थको बिक्री रोकेपछि ग्राहकले पेट्रोल भर्न नपाएका हुन्।
ट्यांकर चालक/सहचालकले नियुक्ति पत्र र सरकारले तोक अनुसार तलव पाउनुपर्ने माग गर्दै आएका छन्।
ट्यांकरमा तापक्रमको सही व्यवस्थापन गर्नपर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नपर्ने,चालक र सहचालकलाई जोखिम भत्ताको व्यवस्था गर्न पनि उनीहरूको माग छ। प्रत्येक ३ महिनामा सुरक्षा सतर्कता तालिमको व्यवस्था गर्नसमेत उनीहरूको माग छ।
संघले ३२ जेठमा कालोपट्टी बाँधेर सरकारको ध्यानाकर्षण गराएको थियो। असार १ गते गाडीमा कालो झण्डा राखेर विरोध गरेका मजदूरले असार २ गतेदेखि काम छाडेका छन्।