![](https://avilekh.com/wp-content/uploads/2024/06/nims.jpg)
चर्चित आरोही निर्मल पुर्जामाथि महिला आरोहीहरूले यौन दुर्व्यवहारको गम्भीर आरोप लगाएका छन्। ‘द न्युयोर्क टाइम्स’ मा प्रकाशित एक समाचारमा हिमाल आरोहणका क्रममा उनीहरूले पुर्जाबाट दुर्व्यवहार भोगेका हुन्।
समाचारमा पूर्व मिस फिनल्याण्ड लोट्टा हिन्टसा र डा. अप्रिल लियोनार्डोले आफूहरूलाई यौन दुर्व्यवहार गरेको बताएका छन्। उनले सन् २०१९ मा प्रकाशित आफ्नो संस्मरणमा नै हिन्टसाले आफू ‘एक चर्चित आरोही’ बाट दुर्व्यवहारमा परेको उल्लेख गरेकी थिइन्। न्युयोर्क टाइम्ससँगको कुराकानीमा भने उनले पुर्जाको नाम नै उल्लेख गरेकी छिन्। उनका अनुसार पुर्जाले उनको कोठामा आएर जबरजस्ती गर्न खोजेको तर आफू नमानेपछि पुर्जाले उनको छेउमा बसेर हस्तमैथुन गरेका थिए।
त्यस्तै, डा. अप्रिल लियोनार्डोले पनि पुर्जाले आफूलाई जबरजस्ती समाएर चुम्बन लिएको दाबी गरेकी छन्। केटू हिमाल आरोहणमा पुर्जा उनको गाइड थिए। सोही समयमा यो घटना भएको उनको भनाई छ।
पुर्जाले भने आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन्। सन् २००८ मा रेकर्ड समयमा विश्वका ८ हजार मिटर माथिका १४ वटा हिमाल सफलतापूर्वक आरोहण गरेपछि पुर्जा चर्चामा आएका थिए। उनले हाल हिमाल आरोहणसम्बन्धी कम्पनी नै चलाएर बसेका छन्।
यता निम्सले आफ्नो इस्टाग्राम (निम्सदाइ)को स्टोरीमा एक पोस्ट हाल्दै आफूले कुनै पनि गल्ती नगरेको बताउँदै गरिएका दाबीहरू झुटो भएको बताएका छन्। उनले पत्रिकालाई यसअघि नै आफूमाथि लगाइएको आरोप साँचो नभएको प्रमाण दिएको पनि जिकिर गरेका छन्।
उनले समाचारमा धेरै तथ्यहरू गल्ती रहेको पनि जिकिर गरेका छन्। मार्च ३० मा भएको भनिएको घटनामा पुर्जाले आफूले सो दिन गरेको काम र रहेको स्थानको टाइमलाइन पत्रिकालाई उपलब्ध गराएको पनि बताएका छन्। उनले यो घटना नघटेको भन्ने धेरै प्रत्यक्षदर्शीको बयानलाई समावेश नगरेर केहीको मात्र भनाइको आधारमा समाचार तयार गरेको आरोप पनि लगाएका छन्।
उनले यस विषयमा सत्य तथ्य बाहिर आउने आशा व्यक्त गर्दै कानुनी उपचारको तयारी गरिरहेको जानकारी दिएका छन्।