काठमाडौँको वायु अझै अस्वस्थ रहेको पाइएको छ ।

एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण एक सय ५२ एक्यूआइ मापन गरिएको छ । जसअनुसार आज काठमाडौँ विश्वको पाचौं प्रदूषित सहरका रुपमा सूचीकृत छ ।

मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलो र वर्षा हुन नसक्दा वायुमण्डलमा धुलोको कण रहिरहेकाले वायु अस्वस्थ बनेको हो ।

काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा नेपाल सरकारले निर्धारण गरेको एक्युआइको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्का रुपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख छ ।

राष्ट्रिय वातावरण नीति २०७६ अनुसार प्रदूषण न्यूनीकरण गर्नका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारी रणनीति छ । प्रमुख सहरहरू, औद्योगिक प्रतिष्ठानलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापनकेन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्साङ्कन गरिने उल्लेख छ ।

साथै, औद्योगिक तथा अन्य क्षेत्रबाट निष्कासन हुने प्रदूषित पानीको प्रशोधनको व्यवस्था गरिने तथा उद्योग र अन्य व्यवसायबाट निष्कासन हुने प्रदूषणयुक्त धुवाँ, धुलो, पानीलाई व्यवस्थित गर्न वातावरणमैत्री प्रविधि कार्यान्वयनमा ल्याइने नीतिमा उल्लेख छ । घरभित्रको वायुप्रदूषणलाई न्यूनीकरण गर्नका लागि सौर्य चुल्हो, विद्युतीय चुल्हो, बायोग्यास, सुधारिएको चुल्हो, चिम्नीजस्ता उपकरणको प्रवद्र्धन गरिनेछ र  ऊर्जा किफायती भवन  निर्माणमा जोड दिने नीतिमा उल्लेख छ ।

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय