बीबीसीले सन् २०२४ का लागि संसारभरिबाट १०० जना प्रेरक तथा प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ।
उक्त सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराद, बलात्कार पीडित र अभियानकर्मी जीजेल पेलिको, कलाकार श्यारोन स्टोन, ओलिम्पिक खेलाडी रेबेका एन्ड्राडे र एलिशन फिलिक्स, गायिका रे, भिजूअल आर्टिस्ट ट्रेसी एमिन, वातावरणवादी अभियानकर्मी एडेनिके ओलाडोसु र लेखिका क्रिस्टिना रिभेरा गार्जा छन्।
गाजा,लेबनन,युक्रेन र सुडानको घातक द्वन्द्व र मानवीय सङ्कटदेखि संसारभरि भएका निर्वाचनपछि समाजमा देखिएका ध्रुवीकरणका साक्षी बन्न पुगेका महिलाहरूले सहनशील भएर समस्याका सामु अडिग रहन धेरै मेहनत गर्नुपरेको छ।
बीबीसी १०० विमिनले यो वर्ष महिलाहरूले बेहोर्नुपरेको समस्याको भारलाई उजागर गर्दै आफ्नो सहनशील क्षमताको उपयोग गरेर उनीहरूको वरपरको विश्व परिवर्तन हुँदै जाँदा त्यसैअनुरूप परिवर्तनका लागि अघि बढ्न गरेको प्रयासको कदर गर्छ। यो सूची जलवायु सङ्कटले निम्त्याएको सङ्कटकालको असरबारे सोधखोज गर्न पनि प्रतिबद्ध छ, जसका निम्ति आफ्ना समुदायलाई सहयोग गर्न लागिपरेका जलवायु अभियानकर्मीहरूको उदाहरणीय कामलाई पनि उजागर गरेको छ।
नेपालबाट शिलशिला आचार्य
बीबीसीको प्रभावशाली महिलाको सूचीमा नेपालबाट शिलशिला आचार्य रहेकी छिन्।
शिलशिला आचार्य नेपालमा एउटा ठूलो प्लास्टिक पुनः प्रयोगसम्बन्धी सञ्जाल चलाउँछिन्। फोहर व्यवस्थापनसम्बन्धी अभ्नी भेन्चर्स नामको उनको संस्थाले सीमान्त समुदायका सदस्यलाई रोजगारी दिनुका साथै हरित क्षेत्रमा थप महिलालाई प्रोत्साहित गर्न ध्यान केन्द्रित गरेको छ।
आचार्यले सन् २०१४ मा ‘धन्यवाद, म आफैँ झोला बोक्छु’ भन्ने अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन। जसले किनमेलमा प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउन प्रेरित गरेको थियो।
वातावरण तथा फोहोर व्यवस्थापन अभियानकर्मी हिमालय सफाइको एउटा ठूलो अभियानका पछाडि पनि थिइन्। त्यस क्रममा पर्वतारोहीहरूले छाडेका ११९ टन फोहर सङ्कलन गरिएको थियो।
उनको कामको परिणाम नै हो, आदिवासी महिलाहरूले सङ्कलन गरेको फोहरबाट शृङ्गारका सामान, म्याट र डालो बनाएर आफ्नो जीवन निर्वाहमा सहज बनाएका छन्।