अमेरिकामा राष्ट्रपति चयन गर्न मतदान हुँदैछ। कमला ह्यारिस र डोनाल्ड ट्रम्प राष्ट्रपतिका लागि उम्मेदवार छन्।
पूर्वराष्ट्रपति ट्रम्प रिपब्लिक पार्टीका उम्मेदवार हुन् भने उपराष्ट्रपति बनिसकेकी कमला डेमोक्रेटिक पार्टीकी हुन्। मतदानपछि दुवै उम्मेदवारले सोमबार अन्तिम चुनावी अभियान चलाएका थिए। उनीहरू दुवैले अमेरिकाको पेन्सिलभेनिया राज्यमा प्रचार गरेका थिए ।
ह्यारिसले अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने आफ्नो प्रयास गरिरहेकी छन्। यस निर्वाचनबारे भएका सर्वेक्षणहरूले दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखाएका छन्।
अमेरिकामा ८ करोडभन्दा बढी मतदाताले मतदान गरिसकेका छन्। अमेरिकामा नोभेम्बर ५ मा मतदान हुने भएपनि त्यसअघि नै मतदान गर्न पनि मिल्ने व्यवस्था छ। मतदानको दिनभन्दा २७ दिनअघि खुल्ने यस्तो मतदानलाई ‘अर्ली भोटिङ’ भन्ने गरिन्छ।
यसपालि खसेको अर्ली भोट सन् २०२० मा खसेको कूल मतको लगभग आधा हो। अर्ली भोटिङले आफूलाई उत्साहित बनाएको दुवैको जिकिर छ।
डेमोक्रेटिक पार्टीबाट हालका राष्ट्रपति जो बाइडेनले नै सुरुमा राष्ट्रपतिको उम्मेदवार बनेर चुनावी कार्यक्रम तय गरेका थिए।
तर ट्रम्पसँगको बहसमा उनी कमजोर प्रस्तुत भएपछि डेमोक्रेटिक पार्टीले ह्यारिसलाई उम्मेदवार बनायो। यसपछि डेमोक्रेटिक पार्टी उत्साहित बन्यो। कमलासँग भएको ट्रम्पको बहसमा पनि ट्रम्प कमजोर प्रस्तुत भएका थिए।
बाइडेन चुनावी दौडबाट बाहिर निस्कनुअघि पोलहरूले उनलाई ट्रम्पभन्दा पछाडि देखाउँदै आएका थिए। तर त्यसबेला पनि कमला नै भएपनि ट्रम्पभन्दा पछि नै पर्ने केही विश्लेषक र पोलहरूको दाबी छ।
कमला राष्ट्रपतिको उम्मेदवार बनेपछि प्रतिद्वन्द्वीसँगको अन्तर कम गर्दै लगेको सर्वेक्षणहरूले उल्लेख गरेका छन्।
शिकागो राज्यमा भएको पार्टीको चारदिने सम्मेलनका बेला ह्यारिस ४७ प्रतिशत हाराहारीमा पुगेकी थिइन्। अगस्ट २२ मा उनको वक्तव्य ‘ए न्यू पाथ’ पछि उनको अग्रता थोरै बढ्यो। तर त्यसयता उनको लोकप्रियतामा खासै परिवर्तन नआएको मतसर्वेक्षणले उल्लेख गरेका छन्।
ट्रम्पको लोकप्रियता औसत लगभग उस्तै रह्यो। चुनावमा उनको लोकप्रियता ४४ प्रतिशतको हाराहारीमा पुग्यो। अगस्ट २३ मा रोबर्ट एफ केनेडीले स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लड्नबाट पछि हटेपछि ट्रम्पको लोकप्रियता बढ्ने अनुमान गरिएपनि त्यस्तो हुन सकेन।
अमेरिकाका विभिन्न राज्यहरूमा भएका सर्वेक्षणहरूले उम्मेदवारहरूको लोकप्रियता औंल्याउँछन्, तर तिनीहरूले राष्ट्रपति चुनाव जित्छन् भन्ने भविष्यवाणी भने गर्दैनन्।
अमेरिकामा राष्ट्रपति चुनावमा इलेक्टोरल कलेज प्रणाली प्रयोग हुन्छ। त्यसर्थ यहाँको राष्ट्रपति बन्नका लागि लोकप्रिय भएर मात्र पुग्दैन। बढी इलेक्टोरल कलेज (राज्यगत प्रतिनिधि) आफ्नो पक्षमा पार्न सक्नुपर्छ।
अमेरिकामा ५० वटा राज्य छन्। त्यहाँका धेरै राज्यहरूको चुनावी नतिजामा खासै फरक आउँदैन। धेरै मतदाताहरूले सधैं एउटै पार्टीलाई मतदान गर्छन्। तर केही राज्यमा भने मत स्विङ हुन्छ। स्विङ हुने राज्यका मतदाता आफ्नो पक्षमा पार्न उम्मेदवारहरू खटिन्छन्। स्विङ स्टेटको नतिजाका आधारमा पूरै देशको नतिजा प्रभावित हुन्छ। त्यसर्थ यसरी स्विङ हुने राज्यहरूलाई अमेरिकी चुनावका सन्दर्भमा ‘युद्धभूमि’ भनिन्छ।
यसपालिको चुनावमा ७ राज्यमा तीव्र प्रतिस्पर्धा छ। यी राज्यमा को अगाडि छन् भन्न गाह्रो छ।
अन्य राज्यका तुलनामा यहाँ मतसर्वेक्षण पनि कम मात्रै भएको छ। यसकारण यहाँको चुनावी रुझानका विषयमा धेरै कुराको तथ्यांक छैन। अनि सर्वेक्षण भएपनि ‘मार्जिन अफ एरर’को हिस्सा पनि हुन्छ। यसले तथ्याङ्कहरू केही प्रतिशत माथितल हुन सक्छ।
भर्खरैका सर्वेक्षणहरूले धेरै राज्यहरूमा दुई उम्मेद्वारहरूबीच एक वा कम प्रतिशत अंकको भिन्नता मात्र छ। यसरी एक प्रतिशत भन्दा पनि कम अन्तर भएको ‘स्विङ स्टेट’मध्ये पेन्सिलभेनिया पनि एक हो। यो राज्य एकदमै महत्त्वपूर्ण मानिन्छ। किनभने यसमा सबैभन्दा धेरै इलेक्टोरल कलेज भोटहरू छन्।
अमेरिकी राष्ट्रपति बन्नका लागि २७० इलेक्टोरल कलेज भोट चाहिन्छ।
ट्रम्पले २०१६ को राष्ट्रपतीय चुनाव जित्नुअघि पेन्सिल्भेनिया, मिशिगन र विस्कन्सिन डेमोक्रेटका गढ थिए। बाइडेनले २०२० को चुनावमा यसलाई फिर्ता लिए। यदि ह्यारिसले यस वर्ष पनि उही प्रदर्शन दोहोर्याए चुनाव जित्ने सम्भावना बढ्ने छ।
ह्यारिस डेमोक्रेटिक उम्मेदवार बनेपछि यी राज्यमा केही परिवर्तनको संकेत देखिएको थियो। बाइडेन जुन दिन राष्ट्रपतिको उम्मेदवारबाट पछि हटे सोही दिन ७ युद्धभूमिमा करिब ५ प्रतिशत बिन्दुले पछि परेका थिए। यद्यपि मतदाताको मन फेरबदल भइरहने भएकाले यसै भन्न सक्ने अवस्था नभएको सर्वेक्षणहरूको भनाइ छ।